बुधबार, जेष्ठ १, २०८२

धनगढीमा सामुदायिक कुकुरको बन्ध्याकरण गरीदै

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले सामुदायिक (छाडा छोडिएका) कुकुरको बन्ध्याकरण अभियान सुरु गरेको छ । उपमहानगरपालिकाले दुर्घटनालाई न्यूनीकरण गर्नका लागि सामुदायिक कुकुरको बन्ध्याकरण अभियान सुरु गरेको हो । सामुदायिक कुकुरका कारण समस्या सिर्जना भएपछि उपमहानगरपालिकाले नियन्त्रणका लागि बन्ध्याकरण अभियान अघि बढाएको बताएको छ ।
उपमहानगरपालिकाले केही वर्षदेखि सामुदायिक कुकुर नियन्त्रण अभियान सञ्चालन गर्दै आएको छ । सामुदायिक कुकुरले गर्दा दुर्घटना र रेविज रोग लाग्ने भएकाले बन्ध्याकरणका साथै रेविजविरुद्धको खोप अभियान चलाइएको हो । सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण सबैभन्दा प्रभावकारी उपाय रहेको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले यही चैत्र १७ गते आइतबारदेखि सामुदायिक कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरेको छ । उपमहानगरपालिकाले चार दिन (बुधबार) सम्म सञ्चालन हुने शिविरमा दुई सय ८० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको जनाएको छ । उपमहानगरपालिका कार्यालयका अनुसार शिविर सञ्चालन गरेको पहिलो दिन आइतबार ९५ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ ।
उपमहानगरपालिका पशुसेवा शाखा प्रमुख डाक्टर समीरकुमार ठाकुरले चार दिनसम्म चल्ने शिविरमा छाडा छोडिएका कुकुरहरूको मात्र बन्ध्याकरण गरिनेछ । छाडा छोडिएका कुकुरहरूको संख्या नियन्त्रण गर्न उपमहानगरपालिकाले हरेक वर्ष बध्याकरण शिविर आयोजना गर्दै आएको पशुसेवा शाखा प्रमुख ठाकुरले बताए । उपमहानगरपालिका पशुसेवा शाखाले छाडा छोडिएका कुकुर समात्न नगरपालिका कर्मचारीहरूलाई सहयोग गर्न नगरवासीलाई आग्रह समेत गरेको छ । सामुदायिक कुकुरको बिगबिगीका कारण मानिसमा रेविजको संक्रमण हुने, सडक दुर्घटनामा बृद्धि हुने तथा फोहर दूर्गन्ध बढ्ने लगायतका समस्या कम गर्न नियन्त्रणको प्रयास हुँदै आएको छ । पशुसेवा शाखा प्रमुख डाक्टर ठाकुरले काठमाण्डौंको मण्डला भेटेनरी अस्पतालको प्राविधिक सहयोग र धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोगमा बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो ।
डाक्टर ठाकुरकाअनुसार पहिलो दिन आइतबार उपमहानगरपालिकाको वडा नम्बर ३, ७, ५ र १३ मा रहेका ९५ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । धनगढीमा कुकुरको संख्या धेरै भएकाले बन्ध्याकरण गरिएको हो । धनगढीमा बिहानको समयमा सामुदायिक कुकुरले टोक्ने तथा लखेट्ने जोखिम रहेको उपमहानगरपालिकाले जनाएको छ । बन्ध्याकरणले सामुदायिक कुकुरको संख्या घटाउने बताइएको छ । शिविरमा खटिएको विज्ञसहितको टोलीले नगरको टोल–टोलमा पुगेर कुकुरलाई नियन्त्रणमा लिई शिविर स्थलमा ल्याइ बन्ध्याकरण लगायत उपचार गरेपश्चात नियन्त्रण लिइएको स्थानमै छाड्ने गरेको डाक्टर ठाकुरले बताए ।   
ad_wide