धनगढी- खराब मौसमका कारण नेपाल सरकारका शहरी विकास, उर्जा, जलस्रोत तथा सिंचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री कूलमान घिसिङ सवार विमान धनगढी विमानस्थलमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको छ।
मन्त्री घिसिङ जानकी गाउँपालिका, दुर्गौली, कैलालीमा आयोजना हुन लागेको विकास–निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन धनगढी आउने कार्यक्रम रहेको थियो। तर मौसम प्रतिकूल भएपछि विमानलाई सुरक्षित अवतरण गराउन नसकिएको विमानस्थल स्रोतले जनाएको छ। सोमबार साँझ उडान भरेको विमान अवतरण हुन नसकि काठमाडौं फिर्ता गएको जनाइएको छ । आज पनि हुस्सु लागेको कारण मन्त्री घिसिङ धनगढी आउने–नआउने अनिश्चित छ ।
जानकी गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनाअनुसार मन्त्री घिसिङको प्रमुख आतिथ्यतामा २०८२ साल पुस १ गते बिहान ११ बजे जानकी गाउँपालिका परिसरमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम तय गरिएको थियो। उक्त कार्यक्रममा गाउँपालिकाको विकास निर्माण, पूर्वाधार र सेवा प्रवाहसम्बन्धी विषयमा छलफल हुने तयारी रहेको थियो।