धनगढी- सुदूरपश्चिम प्रदेशमा प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम (TVET) सुदृढीकरण गर्ने उद्देश्यले कैलाली उद्योग वाणिज्य संघ र तीन स्विस सहयोग परियोजनाबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सम्झौतापत्रमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर राज ओझाले हस्ताक्षर गर्नुभएको हो। स्विस सहयोगअन्तर्गत सञ्चालनमा रहेका दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना–दोस्रो (ENSSURE), नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजना–दोस्रो (NVQS) तथा युवाहरूका लागि गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम (QualiTY) परियोजनाका टिम लिडरहरूले पनि समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
यस सहकार्यबाट सुदूरपश्चिम प्रदेशमा TVET क्षेत्रमा निजी क्षेत्रको प्रभावकारी सहभागिता सुनिश्चित हुने विश्वास गरिएको छ। स्थानीय आवश्यकतामा आधारित सीप विकास, युवाहरूको रोजगारीमा पहुँच विस्तार र दिगो रोजगार सिर्जनामा यसले उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कैलाली उद्योग वाणिज्य संघले निजी क्षेत्र र विकास साझेदारबीचको सहकार्यले प्रदेशको आर्थिक विकास तथा मानव संसाधन सुदृढीकरणमा सकारात्मक प्रभाव पार्ने जनाएको छ।