धनगढी– सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग–व्यापार, कला तथा संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको सुदूरपश्चिम महोत्सवको अवधि चार दिन थप गरिएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २२ गतेदेखि सुरु भएको महोत्सव अब पुस ६ गतेसम्म सञ्चालन हुने भएको हो । यस सम्बन्धमा मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले औपचारिक जानकारी दिएको हो ।
यसअघि महोत्सव पुस २ गतेसम्म सञ्चालन हुने बताइएको थियो । तर महोत्सवप्रति दर्शक, उपभोक्ता तथा सरोकारवालाको उत्साहजनक सहभागिता, बढ्दो चासो र सकारात्मक प्रतिक्रिया प्राप्त भएपछि महोत्सवको अवधि थप गर्ने निर्णय गरिएको आयोजक संघका अध्यक्ष पुस्करराज ओझाले जानकारी दिए । महोत्सव स्थलमा दैनिक हजारौँ दर्शकको उपस्थिति रहेको र स्थानीय उत्पादन तथा सेवाप्रति उपभोक्ताको आकर्षण बढिरहेको उनको भनाइ छ ।
महोत्सवले सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक पहिचानलाई राष्ट्रियस्तरमा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले दाबी गरेको छ । विशेष गरी स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगका सामग्री, हस्तकला, खाद्य परिकार तथा पर्यटन प्रवद्र्धनमा महोत्सव प्रभावकारी माध्यम बनेको बताइएको छ । साथै महोत्सवले स्थानीय उद्यमी तथा व्यवसायीको मनोबल बढाउनुका साथै रोजगारी सिर्जना र आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पु¥याइरहेको जनाइएको छ ।
आयोजक कैलाली उद्योग वाणिज्य संघका अनुसार महोत्सवलाई सफल बनाउन प्रदेश तथा स्थानीय सरकारका निकाय, सुरक्षा निकाय, कलाकार, सञ्चारकर्मी, स्वयंसेवक र आम नागरिकको उल्लेख्य सहयोग प्राप्त भएको छ । संघले सबै सहयोगी पक्षप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सहभागिताको अपेक्षा गरेको छ ।
कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सवलाई सुदूरपश्चिमको मात्र नभई राष्ट्रियस्तरको नमुना महोत्सवका रूपमा विकास गर्दै लैजाने लक्ष्य लिएको जनाएको छ । आगामी संस्करणहरूमा अझ व्यवस्थित, आकर्षक र समावेशी कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत भइरहेको आयोजकको भनाइ छ ।