सुदिप थापा
धनगढी –
कैलालीको गौरीगंगा नगरपालिका वडा नं. १ की करिश्मा मिजार अनलाइन ठगी गिरोहको फन्दामा परेकी छन्। टिकटकमार्फत चिनजान भएका ‘रवि शर्मा’ नामका व्यक्तिले आफू लन्डनमा कार्यरत डाक्टर भएको बताउँदै विश्वास दिलाएपछि ठगीको घटना भएको हो।
पीडित मिजारका अनुसार उक्त व्यक्तिले करिब १६ लाख रुपैयाँ बराबरको गिफ्ट (गहना, आइफोन लगायतका सामग्री) पठाएको दाबी गर्दै गिफ्ट एयरपोर्टमा अड्किएको बहाना बनाइ पटक–पटक रकम माग गरेका थिए। सोही विश्वासमा परेर उनले विभिन्न मितिमा गरी कुल २ लाख २५ हजार रुपैयाँ ठगको खातामा जम्मा गरेको बताइन्।
पीडितले ग्लोबल आइएमई बैंकको खाता नम्बर १२९०७०१००९४७७१, खातावालाको नाम टेक बहादुर वि.के. रहेको खातामा एक लाख २५ हजार रुपैयाँ पठाएको र बाँकी रकम अन्य माध्यमबाट दिएको जानकारी दिइन्।

करिश्माले टिकटकमार्फत चिनजान भई पछि वाट्सएपमा कुराकानी हुँदै आएको बताउँदै भारतको मोबाइल नम्बर +९१८४७०९६६४५६ प्रयोग गरी उक्त व्यक्ति सम्पर्कमा रहेको बताइन्। उनले भिडियो कलमार्फत अनुहार देखाएर समेत कुराकानी गर्ने गरेको बताएकी छन्।
पीडितकी आमा नामसारा मिजारले छोरीले भनेअनुसार नै आफूहरूले ऋण खोजेर पैसा दिएको र अहिले आएर ठगिएको महसुस भएको बताइन्। “छोरीले गिफ्ट आएको, एयरपोर्टमा पैसा तिरेपछि मात्र छुट्ने भनिन्, हामीले विश्वास गर्यौं,” उनले भनिन्।
ठगी भएको महसुस भएपछि अहिले करिश्मा मिजार परिवारसहित इलाका प्रहरी कार्यालय चौमाला पुगेर न्यायको गुहार मागेका छन्। प्रहरीले घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ।

सुझाव / जनचेतना सन्देश:
सामाजिक सञ्जालमा चिनजान भएका अपरिचित व्यक्तिको आर्थिक मागमा कहिल्यै विश्वास नगर्नुहोस्।
विदेशबाट गिफ्ट आएको, एयरपोर्टमा अड्किएको भन्दै पैसा माग्नु अनलाइन ठगीको सामान्य शैली हो।
कसैले आफू डाक्टर, सेना, व्यापारी जस्ता पेसामा रहेको दाबी गरे पनि प्रमाणबिना विश्वास नगर्नुहोस्।
यस्ता शंका लाग्दा तुरुन्तै प्रहरी, साइबर ब्युरो वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनुहोस्।
परिवारका सदस्यसँग खुलेर छलफल नगरी कुनै पनि रकम नपठाउनुहोस्।