धनगढी –
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको आयोजनामा प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया तथा गेटा आँखा अस्पताल र नवजीवन अस्पतालको सहयोगमा कैलालीको गौरिगंगा नगरपालिका–१ स्थित चौमलामा सवारी चालकको स्वास्थ्य परीक्षण तथा लागू पदार्थ सेवन (लापासे) चेकजाँच कार्यक्रम सम्पन्न भएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको वार्षिक कार्ययोजना अनुसार पूर्व–पश्चिम राजमार्गलाई केन्द्रमा राखेर सञ्चालन गरिएको कार्यक्रममा जम्मा ५७ जना सवारी चालकको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ३७ जना चालकमा उच्च रक्तचाप र ३ जना चालकमा दृष्टि सम्बन्धी समस्या रहेको फेला परेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक चक्र बहादुर देउवाले इलाका प्रहरी कार्यालय चौमालाको अगाडि यात्रुवाहक सवारी साधनका चालकलाई लक्षित गरी स्वास्थ्य परीक्षण तथा लागू पदार्थ सेवन (लापासे) चेकजाँच गरिएको जानकारी दिए। उनले पूर्व–पश्चिम राजमार्गमा चल्ने हायस, ईभी गाडी लगायतका सवारी साधनका चालकलाई कार्यक्रममा सहभागी गराई चेकजाँच गरिएको बताए।
उनका अनुसार दुई महिना अघि गोदावरी नगरपालिकाको गोदावरी क्षेत्रमा गरिएको लागू पदार्थ सेवन (लापासे) चेकजाँचका क्रममा ६ जना चालक लागू पदार्थ सेवन गरी सवारी चलाइरहेको अवस्थामा फेला परेका थिए। ती चालकलाई कानुनी दायरामा ल्याई सवारी चालक अनुमति पत्र खारेजीको प्रक्रियामा लगिएको प्रहरी निरीक्षक देउवाले बताए।
“पूर्व–पश्चिम राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको स्वास्थ्य परीक्षण र लागू पदार्थ सेवन (लापासे) चेकजाँचलाई निरन्तरता दिएका छौं। नियम उल्लङ्घन गर्ने चालकलाई कानुनअनुसार कारबाही गरिन्छ।”

त्यस्तै, गेटा आँखा अस्पतालका नेत्र अधिकृत देव राज पनेरुले ट्राफिक प्रहरीको आयोजनामा एक दिने आँखा जाँच कार्यक्रम गरिएको बताउँदै केही चालकमा दृष्टिदोष देखिएको जानकारी दिए। उनले दृष्टि कमजोर अवस्थामा सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले समय–समयमा आँखा परीक्षण गर्न चालकलाई सुझाव दिए।
“दृष्टि कमजोर भएर सवारी चलाउँदा सानो गल्तीले पनि ठूलो दुर्घटना हुन सक्छ। चालकले नियमित आँखा परीक्षण गराउन आवश्यक छ।”
कार्यक्रमले सवारी चालकमा स्वास्थ्य तथा कानुनी सचेतना बढाउनुका साथै सडक दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
