धनगढी– बदलिँदो जीवनशैली, तीव्र सहरीकरण, प्रविधिको बढ्दो प्रयोग र सामाजिक दबाबका कारण मानसिक स्वास्थ्य समस्या आज समाजको गम्भीर चुनौती बन्दै गएको सरोकारवालाले बताएका छन् । पहिले शारीरिक स्वास्थ्यलाई मात्रै प्राथमिकतामा राख्ने समाज अहिले मानसिक स्वास्थ्यतर्फ पनि गम्भीर बन्नुपर्ने अवस्थामा पुगेको उनीहरूको निष्कर्ष छ । हरेक व्यक्तिमा कुनै न कुनै प्रकारको तनाव रहने भएकाले त्यसलाई समयमै पहिचान गरी उचित व्यवस्थापन गर्न नसकिए सामाजिक, पारिवारिक र व्यक्तिगत जीवनमा गहिरो असर पर्ने उनीहरूले चेतावनी दिएका छन् ।
कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवअन्तर्गत ‘भिजन सुदूरपश्चिम’ कार्यक्रमको आठौँ श्रृङ्खलामा ‘बदलिँदो समाज र तनाव व्यवस्थापन’ विषयमा आयोजित बहस कार्यक्रममा बोल्दै वक्ताहरूले बदलिँदो सामाजिक संरचना र जीवनशैलीले मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको बताए । खानपानको असन्तुलन, अनियमित दिनचर्या, प्रतिस्पर्धात्मक जीवन, बेरोजगारी, आर्थिक दबाब र प्रविधिमा अत्यधिक निर्भरता मानसिक तनावका प्रमुख कारणका रूपमा देखिन थालेको उनीहरूको भनाइ थियो ।
कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले पछिल्लो समय मानसिक स्वास्थ्य समस्या तीव्र रूपमा बढिरहेको उल्लेख गरे । ‘हरेक १० जना बयस्कमध्ये कम्तीमा १ जना कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्याबाट पीडित छ,’ उनले भने, ‘यो तथ्यले हाम्रो समाजमा मानसिक स्वास्थ्य समस्या कति गम्भीर बन्दै गएको छ भन्ने स्पष्ट देखाउँछ ।’ उनका अनुसार अहिलेको खानपान, बढ्दो आवश्यकताका चाप, सामाजिक अपेक्षा र जीवनशैलीकै कारण मानिसहरू मानसिक रूपमा कमजोर बन्दै गएका छन् ।
कुँवरले मानसिक स्वास्थ्य समस्यालाई बेवास्ता गर्दा भविष्यमा यसले विकराल रूप लिन सक्ने चेतावनी पनि दिए । उनले मानसिक स्वास्थ्य उपचारका लागि नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको औषधिबारे जानकारी दिँदै भने, ‘सरकारले निःशुल्क प्रदान गर्ने ९८ प्रकारका औषधिमध्ये ११ प्रकार मानसिक स्वास्थ्यसँग सम्बन्धित छन् । ती औषधि अहिले स्वास्थ्य कार्यालयमार्फत स्वास्थ्य चौकीहरूमा निःशुल्क वितरण भइरहेको छ ।’ यसले उपचार पहुँचमा केही सहजता ल्याए पनि गाउँघर स्तरमा आवश्यक सेवा अझै पर्याप्त नभएको उनले स्वीकार गरे ।
उनका अनुसार सरकारले मानसिक स्वास्थ्यसम्बन्धी नीतिगत काम गरे पनि त्यसको प्रभावकारी कार्यान्वयनमा समस्या छ । ‘गाउँस्तरका स्वास्थ्य संस्थामा मानसिक स्वास्थ्यका लागि आवश्यक चिकित्सक, तालिम प्राप्त जनशक्ति र पूर्वाधारको अभाव छ,’ कुँवरले भने, ‘नीति बने पनि व्यवहारमा सेवा विस्तार हुन सकेको छैन ।’ यद्यपि, जिल्ला स्वास्थ्य कार्यालय कैलालीले विद्यार्थी लक्षित कार्यक्रमहरू सञ्चालन गर्दै आएको उनले जानकारी दिए । विद्यालय तथा कलेजस्तरमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना कार्यक्रम, विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँग सहकार्य, साथै सञ्चारमाध्यममार्फत सन्देश प्रवाह गरिरहेको उनको भनाइ थियो ।
बहस कार्यक्रममा अर्का वक्ता डाक्टर सुशान अर्यालले पछिल्लो समय विद्यार्थी तथा किशोर–किशोरीमा मानसिक स्वास्थ्य समस्या उल्लेखनीय रूपमा बढ्दै गएको बताए । ‘किशोरावस्था आफैंमा संवेदनशील समय हो,’ उनले भने, ‘यो उमेरमा भावनात्मक उतारचढाव धेरै हुने भएकाले मानसिक स्वास्थ्य समस्या देखिनु स्वाभाविक पनि हो, तर समयमै ध्यान नदिँदा समस्या जटिल बन्छ ।’ उनका अनुसार पढाइको दबाब, अभिभावकको अपेक्षा, सामाजिक सञ्जालको प्रभाव र भविष्यप्रतिको अनिश्चितताले विद्यार्थीहरू बढी तनावमा परिरहेका छन् ।
डाक्टर अर्यालले मानसिक स्वास्थ्य सुधारका लागि सामाजिक सम्बन्धको भूमिकालाई महत्वपूर्ण बताए । ‘मनमिल्ने साथीभाइसँग आफ्ना पीडा र भावना व्यक्त गर्नु, परिवारसँग समय बिताउनु र रमाइलो स्थानमा घुमघाम गर्नुले तनाव कम गर्न सहयोग गर्छ,’ उनले भने । उनले ध्यान, योग र नियमित शारीरिक अभ्यासलाई पनि मानसिक स्वास्थ्यका लागि प्रभावकारी उपायका रूपमा प्रस्तुत गरे । ‘ध्यान गर्ने बानीले मनलाई स्थिर बनाउँछ र नकारात्मक सोच कम गर्छ,’ उनको सुझाव थियो ।
एक्लोपन मानसिक स्वास्थ्यका लागि घातक हुनसक्ने बताउँदै उनले मानिसहरू सामाजिक रूपमा सक्रिय रहनुपर्नेमा जोड दिए । ‘एक्लै बस्ने बानी राम्रो होइन,’ उनले भने, ‘यसले मानसिक समस्या झनै बल्झिन्छ । मानिस सामाजिक प्राणी भएकाले संगत र संवाद अत्यन्त आवश्यक छ ।’ उनका अनुसार मानसिक स्वास्थ्य समस्यालाई लुकाउने वा बेवास्ता गर्ने प्रवृत्ति हटाएर खुला रूपमा कुरा गर्ने संस्कार विकास गर्न आवश्यक छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओमबहादुर रानाले मानसिक स्वास्थ्य र सामाजिक अपराधबीच गहिरो सम्बन्ध रहेको बताए । ‘तनाव व्यवस्थापन गर्न नसक्दा आत्महत्या, पारिवारिक बेमेल, गरिबी, दीर्घरोग र व्यवसायिक असफलताजस्ता समस्या बढ्दै गएका छन्,’ उनले भने, ‘यिनै कारणले समाजमा अपराधका घटनासमेत बढिरहेका छन् ।’ उनका अनुसार मानसिक स्वास्थ्य असन्तुलनका कारण मानिस दुव्र्यसनतर्फ आकर्षित हुन्छन् र त्यसबाट अपराधतर्फ धकेलिने सम्भावना बढ्छ ।
रानाले मानसिक स्वास्थ्य सुदृढ गर्न एक्लोपन त्यागेर सकारात्मक संगत रोज्नुपर्ने सुझाव दिए । ‘मनमिल्ने साथीभाइको संगत, खेलकुदमा सक्रियता र आफ्नो कामप्रति समर्पणले मानसिक स्वास्थ्यलाई सन्तुलित राख्न मद्दत गर्छ,’ उनले भने । उनले अत्यधिक आकांक्षा र त्यसको परिपूर्ति हुन नसक्दा पनि मानिस निराश भएर आत्महत्याजस्ता चरम कदम चाल्न सक्ने भएकाले यथार्थपरक सोच आवश्यक रहेको बताए ।
कार्यक्रममा सहभागी वक्ताहरूले मानसिक स्वास्थ्यलाई व्यक्तिगत समस्या मात्र नभई सामाजिक सरोकारको विषयका रूपमा लिनुपर्नेमा जोड दिए । उनीहरूका अनुसार परिवार, विद्यालय, समुदाय र राज्य सबैले मिलेर मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि काम गर्न आवश्यक छ । प्रारम्भिक चरणमै समस्या पहिचान, सहज उपचार पहुँच, जनचेतना अभिवृद्धि र सकारात्मक जीवनशैली नै मानसिक स्वास्थ्य सुदृढीकरणका मुख्य आधार हुन् ।
कैलाली उद्योग वाणिज्य संघले यस वर्षदेखि सुदूरपश्चिम महोत्सवमा मनोरञ्जनात्मक कार्यक्रमसँगै बिहानको समयमा ‘भिजन सुदूरपश्चिम’ नामक बहस कार्यक्रमको सुरुवात गरेको हो । यस कार्यक्रममार्फत सामाजिक, आर्थिक र स्वास्थ्यसम्बन्धी समसामयिक विषयमा सरोकारवाला निकायबीच छलफल गरिँदै आएको छ । बुधबार आयोजित आठौँ श्रृङ्खलामा ‘बदलिँदो समाज र तनाव व्यवस्थापन’ विषयमा भएको बहसले मानसिक स्वास्थ्यप्रति जनचेतना बढाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको निष्कर्ष थियो ।
वक्ताहरूले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्ने संस्कार विकास गर्न सके मात्रै स्वस्थ, सुरक्षित र सन्तुलित समाज निर्माण सम्भव हुने विश्वास व्यक्त गरे ।