कञ्चनपुर – तत्कालीन रैकवार बिचवा हालको कृष्णपुर नगरपालिका वडा न ८ मा जन्मिएका किर्तिमानी खेलाडी ओलम्पियन दिपक बिस्टलाई कृष्णपुर नगरपालिकाको सद्भावना दुत नियुक्त गरेको छ । सोमबार कन्चन माध्यमिक विद्यालयमा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको फाइनल समारोहमा कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले सद्भावना दुत नियुक्त गरेको पत्र सोमबार बिस्टलाई हस्तान्तरण गरेका हुन । सोही कार्यक्रममा बिस्टलाई खेलकुदको माध्यमबाट कृष्णपुरको लागि विश्वसामु पुर्याएको भन्दै सम्मान पनि गरिएको छ ।
सद्भावना दुत नियुक्तपछि ओलम्पियन दिपक बिस्टले आफ्नो जन्मभूमि रैकवार बिचुवा, कञ्चनपुरमा यसरी सम्मानित हुन पाउँदा म अत्यन्तै खुशी र गौरवान्वित भएको बताएका छन् । उनले भने ती दिनहरू र मलाई खेलकुदको बाटो देखाउने, सिकाउने तथा आफ्नै सन्तानझैँ माया गरेर हुर्काउने मेरा खेल शिक्षकहरू आज पनि मनमा ताजा छन्।
