शनिबार, बैशाख १२, २०८३

कैलालीमा १ सय ८ मतदान स्थल अति संवेदनशील, खुला सीमा र पछिल्लो घटनाक्रमले निर्वाचन सुरक्षामा चुनौती

धनगढी। जेनजी विद्रोहपछिको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति तय गरेसँगै देशभर निर्वाचनको सरगर्मी बढेको छ । सोही अनुरूप सुदूरपश्चिम प्रदेशको प्रमुख जिल्ला कैलालीमा पनि निर्वाचनको तयारी तिव्र रूपमा अगाडि बढाइएको छ । तर पछिल्लो राजनीतिक घटनाक्रम, खुला सीमा, सीमित स्रोत–साधन र जनशक्ति अभावका कारण निर्वाचन सुरक्षा चुनौतीपूर्ण देखिएको छ ।

जिल्लाभर रहेका मतदान स्थलहरूको अनुगमन तथा अवस्था मूल्याङ्कनको काम सम्पन्न भइसकेको निर्वाचन कार्यालयले जनाएको छ । आवश्यक पूर्वतयारी अन्तर्गत मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने काम सकिएको छ । साथै, मतदान प्रक्रियामा आवश्यक सामग्री, जनशक्ति व्यवस्थापन तथा अन्य तयारीका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाइएको छ । थप आवश्यक सामग्रीका लागि निर्वाचन आयोगसँग औपचारिक मागसमेत गरिएको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टका अनुसार मतदान स्थलको रिपोर्टिङ तथा अद्यावधिक मतदाता नामावली आयोगमा पठाइसकिएको छ । “मतदाता नामावलीसँगै आवश्यक सामग्रीका लागि आयोगसँग माग गरिसकेका छौँ,” उनले भने, “मतदान स्थलमा पानी, शौचालयलगायतका आधारभूत व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय भइरहेको छ । केही सामग्री हामीसँग उपलब्ध भएकै स्रोतबाट व्यवस्थापन गरिरहेका छौँ ।”

२ सय ३७ मतदान स्थलमध्ये १ सय ८ अति संवेदनशील

तयारीसँगै सुरक्षा संवेदनशीलता कैलालीको प्रमुख चुनौती बनेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा रहेका २ सय ३७ मतदान स्थलमध्ये १ सय ८ स्थल अति संवेदनशील, १ सय ६ स्थल संवेदनशील र २३ स्थल सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । ती मतदान स्थलहरूमा जम्मा ६ सय २९ मतदान केन्द्र रहनेछन् । नागरिक समाजका प्रतिनिधिहरूका अनुसार प्रहरीबाट लुटिएका हातहतियार, फरार कैदीबन्दी, खुला सीमा तथा सीमापार अपराधका सम्भावनाले निर्वाचनलाई प्रभावित पार्न सक्ने जोखिम बढाएको छ । त्यसैले ढुक्क भएर मतदान गर्न सक्ने वातावरण निर्माण गर्न राज्यका सबै निकाय गम्भीर हुनुपर्ने उनीहरूको भनाइ छ ।

इन्सेख सुदूरपश्चिम संयोजक खडक जोशीले पछिल्लो परिस्थितिमा सबै राजनीतिक दल र जेनजी समूह निर्वाचन प्रक्रियामा एकजुट हुनुपर्नेमा जोड दिए । “अबको निकास निर्वाचन नै हो,” उनले भने, “जेनजी होस् वा पुराना–नयाँ राजनीतिक दल, सबै निर्वाचनमा जानुपर्छ । नयाँ जनादेशबाट मात्रै सरकार सञ्चालन हुन सक्छ ।” पछिल्लो समयमा प्रहरीका हतियार लुटिनु, कैदी फरार हुनु जस्ता घटनाले सुरक्षाकर्मीको मनोबलसमेत प्रभावित भएको जोशीले बताए । “चुनाव सबैभन्दा संवेदनशील प्रक्रिया हो । यसलाई सफल बनाउन चुनौती धेरै हुन्छन् । सबैखाले जोखिमको मूल्याङ्कन गरी सोही अनुसार सुरक्षा व्यवस्था मिलाएपछि मात्रै मतदाताले ढुक्कसँग मतदान गर्न सक्छन्,” उनले भने ।

निर्वाचनको मिति नजिकिँदै जाँदा सुरक्षा चुनौतीप्रति आम नागरिकको चासो बढ्दै गएको छ । मतदाताहरूले कुनै डर, दबाब वा अवरोधबिना आफ्नो मताधिकार प्रयोग गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् । अबको निर्वाचन लोकतन्त्रको सुदृढीकरणका लागि निर्णायक हुने भएकाले सुरक्षा, व्यवस्थापन र विश्वसनीयतामा कुनै कमजोरी हुन नहुने उनीहरूको जोड छ ।