शुक्रबार, बैशाख ११, २०८३

बाजुराबाट चुनाव लड्न नेकपाद्वारा प्रकाश शाहको नाम एकल सिफारिस

धनगढीः नेकपा (एमाले) परित्याग गरेका प्रकाशबहादुर शाह बाजुराबाट नेपाली कम्युनिस्ट पार्टीले सर्वसम्मत सिफारिस गरेको छ । प्रतिनिधिसभा निर्वाचन लड्न शाहको नाम सर्वसम्मत सिफारिस गरिएको हो ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली ‘जबजको चिरहरणतर्फ अग्रसर’ भएको भन्दै पार्टी परित्याग गरेका थिए । उनी भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगै नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका थिए ।

अघिल्लो प्रदेशसभा कार्यकालमा बाजुराबाट निर्वाचित भएका शाह एमाले सुदूरपश्चिमका संसदीय दलको नेता थिए । उनले चार वर्ष आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला मन्त्रालयको नेतृत्व गरेका थिए ।

यस्तै बाजुरा नेकपाले समानुपातिकतर्फ हिक्मतजंग शाही, सन्जय कटेल र बिनिता बिकको नाम सिफारिस गरेको छ । शाही पिछडिएकाे क्षेत्र, बिकलाई दलित महिला तथा कटेललाई अपाङ्गता क्लस्टरमा सिफारिस गरिएको हो । अजबहादुर मल्लको नाम राष्ट्रियसभा निर्वाचनका लागि सिफारिस गरिएको छ ।