शुक्रबार, बैशाख ११, २०८३

महाकाली पुल आयोजनाको काम दुई वर्षदेखि ठप्प

कञ्चनपुर — महाकाली नदीमा निर्माण गरिएको चार लेनको पक्की पुलको काम अझै पूरा हुन सकेको छैन। पुलसँगै पहुँच मार्ग तथा पुलको दुवैतर्फ नदी किनारमा निर्माण गर्नुपर्ने पोखरीका गाइड बण्डको काम बाँकी छ। तर पछिल्लो दुई वर्षदेखि उक्त क्षेत्रमा कुनै पनि काम अघि बढेको छैन। गत वर्ष महाकालीको बाढीले गाइड बण्ड भत्काएको थियो। यस वर्ष उक्त क्षेत्रलाई संकटग्रस्त घोषणा गर्दै नेपाली सेनामार्फत गाइड बण्ड मर्मत र नदीको धार परिवर्तनको काम गरिएको थियो। त्यसबाहेक अन्य सबै काम ठप्प रहेको छ।

‘अहिले परिवर्तित डिजाइनको भेरिएसन स्वीकृत हुन सकेको छैन, म्याद पनि थपिएको छैन,’ महाकाली पुल आयोजनाका प्रमुख नेत्र देवकोटाले भने, ‘निर्माण कम्पनीले साइड छाडिसकेको छ। आयोजना काम अघि बढ्न नसक्ने अवस्थामा पुगेको छ। यसलाई कसरी फुकाउने भन्ने विषयमा मन्त्रालयमा पत्राचार गरेका छौं।’ उनका अनुसार निर्माण कम्पनीले ठेक्का तोड्नका लागि पत्राचार गरे पनि आयोजनाले त्यसलाई स्वीकार गरेको छैन।