शुक्रबार, बैशाख ११, २०८३

सुदूरपश्चिममा सवारी दुर्घटना न्यूनिकरण अभियान तीव्र, कञ्चनपुरको कृष्णपुरमा ‘ब्ल्याक स्पट म्यापिङ’ कार्यक्रम उद्घाटन

 

कञ्चनपुर – सवारी दुर्घटना न्यूनिकरण तथा सुरक्षित यात्रालाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा कञ्चनपुरको कृष्णपुर नगरपालिका–२, बाणीमा ‘ब्ल्याक स्पट म्यापिङ’ तथा सूचनामूलक बोर्ड स्थापना कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रम सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक ओम बहादुर रानाले औपचारिक रूपमा उद्घाटन गर्नुभएको हो। बढ्दै गएको सवारी दुर्घटनाको दरलाई नियन्त्रणमा ल्याउने लक्ष्यसहित आयोजना गरिएको कार्यक्रममा दुर्घटना बढी हुने स्थानहरूको पहिचान ९ब्ल्याक स्पट० गरी चालक, सह–चालक तथा यात्रुलाई ट्राफिक नियम, सडकको अवस्था र जोखिमयुक्त क्षेत्रबारे स्पष्ट जानकारी गराउने व्यवस्था गरिएको छ।
कार्यक्रमअन्तर्गत दुर्घटना सम्भावना उच्च रहेका स्थानहरूमा चेतनामूलक तथा सूचनामूलक बोर्डहरू राखिने, सडक प्रयोगकर्तालाई सचेत गराइने र ट्राफिक नियमको प्रभावकारी पालना गराउने कार्यलाई प्राथमिकता दिइने जनाइएको छ। यसबाट सवारी चालकलाई समयमै सतर्क गराई मानवीय क्षति र भौतिक नोक्सानी न्यूनिकरणमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको वार्षिक कार्ययोजना अनुसार यो अभियान सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा चरणबद्ध रूपमा सञ्चालन गरिने जानकारी दिइएको छ। स्थानीय तह, सरोकारवाला निकाय र नागरिकको सहकार्यमा कार्यक्रमलाई अझ प्रभावकारी बनाइने प्रदेश प्रहरी प्रमुख रानाले बताउनुभयो।
सुरक्षित सडक, अनुशासित ट्राफिक र जिम्मेवार यात्राको सन्देश बोकेको यस अभियानले सुदूरपश्चिममा ट्राफिक व्यवस्थापनलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।