शुक्रबार, बैशाख ११, २०८३

कैलालीमा विदेशी दर्ता भएका भाडाका सवारी साधन सञ्चालनमा प्रतिबन्ध

शेर बहादुर ऐर/ सुदिप थापा

धनगढी– सवारी तथा यातायात व्यवस्था सम्बन्धी कानुनी प्रावधानको कडाइका साथ कार्यान्वयन गर्न कैलाली जिल्लामा विदेशमा दर्ता भएका भाडाका सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइने भएको छ ।
सोमबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा पहेलो नम्बर प्लेटका टयाक्सीहर व्यवस्थीत गर्ने सम्बन्धमा बसेको समन्वयात्मक बैठकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३० तथा सुदूरपश्चिम प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७९ को दफा ३४ अनुसार यातायात सेवा सञ्चालन गर्ने उद्देश्य बाहेक विदेशमा दर्ता भएका सवारी साधनलाई नेपालभित्र सञ्चालन गर्न नपाइने स्पष्ट व्यवस्था रहेको जनाउँदै यस्तो निर्णय गरेको हो ।
यस सनराइज टेलिभिजनले पटक–पटक भारतीय नम्बर प्लेटका सवारीसाधन निर्वाध धनगढीका सडकमा गुडिरहेको समाचार प्रशारण गर्दै आएपछि जिल्ला प्रशासनको समन्वयात्मक बैठकले सो निर्णय गरेको जनाइएको छ ।


निर्णयअनुसार २०८२ साल पुस १५ गतेदेखि कैलाली जिल्लाभित्र विदेशमा दर्ता भएका भाडाका सवारी साधन सञ्चालन गर्न अनुमति नदिइने भएको छ । यस निर्णयको प्रभावकारी कार्यान्वयनका लागि कैलाली भन्सार कार्यालय, सती भन्सार कार्यालय तथा यातायात व्यवस्था कार्यालयलाई औपचारिक रूपमा जानकारी पठाइने निर्णय गरिएको छ । साथै, यातायात व्यवसायी, सरोकारवाला निकाय र आम नागरिकलाई जानकारी गराउन व्यापक प्रचार–प्रसार गर्न अनुरोध गरिएको छ ।
स्थानीय यातायात व्यवसायीहरूले लामो समयदेखि भारतीय नम्बर प्लेटका भाडाका सवारी साधनले अवैध रूपमा यात्रु ओसारपसार गर्दा आफूहरू आर्थिक रूपमा प्रभावित भएको गुनासो गर्दै आएका थिए । ती गुनासोलाई सम्बोधन गर्दै कानुनअनुसार व्यवस्था कडाइका साथ लागू गर्न यो निर्णय गरिएको बताइएको छ । सम्बन्धित निकायका अनुसार यसले स्वदेशी यातायात व्यवसायको संरक्षण गर्नुका साथै राजस्व चुहावट नियन्त्रण गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यसै सन्दर्भमा नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनहरूको आवतजावतलाई व्यवस्थित र पारदर्शी बनाउन कैलाली भन्सार कार्यालय र सती भन्सार कार्यालयलाई चुस्त अभिलेख प्रणाली लागू गर्न निर्देशन दिइएको छ । भारतीय सवारी साधन कुन प्रयोजनका लागि, कति समयका लागि नेपाल प्रवेश गरिरहेको छ भन्ने विवरण स्पष्ट रूपमा अभिलेख राखिने व्यवस्था मिलाइने जनाइएको छ । यसले भविष्यमा अनुगमन तथा नियन्त्रण कार्यलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ ।
नेपाल–भारत सीमा नाकाबाट प्रवेश गर्ने नेपाली तथा अन्य विदेशी पर्यटकहरूसँग बढी भाडा असुल्ने सम्भावनालाई मध्यनजर गर्दै सम्बन्धित यातायात व्यवसायी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच समन्वयात्मक रूपमा काम गर्ने निर्णय पनि गरिएको छ। विशेष गरी सीमा क्षेत्रमा यात्रुहरू ठगीमा पर्ने, तोकिएको भन्दा बढी भाडा तिर्न बाध्य हुने जस्ता समस्या देखिँदै आएको भन्दै त्यसको नियन्त्रणमा संयुक्त अनुगमन र निगरानी गरिने बताइएको छ ।


त्यसैगरी, कार, जिप वा भ्यान बाहेकका सवारी साधनले सुविधा पास लिई वा अस्थायी पैठारीका नाममा नेपाल प्रवेश गर्ने अभ्यासलाई कडाइका साथ नियन्त्रण गरिने भएको छ । विशेष गरी पहेंलो नम्बर प्लेट (ट्याक्सी) भएका भारतीय सवारी साधनलाई पैठारी इजाजत नदिई प्रवेश विन्दुमै रोक लगाइने निर्णय गरिएको छ । यसबारे भन्सार, सुरक्षा निकाय र सम्बन्धित सबै निकायलाई स्पष्ट जानकारी गराइने जनाइएको छ ।
सम्बन्धित निकायका अधिकारीहरूका अनुसार यस निर्णयले सीमावर्ती क्षेत्रमा अव्यवस्थित सवारी सञ्चालन नियन्त्रण हुनुका साथै यात्रुहरूको सुरक्षा, भाडादरको पारदर्शिता र कानुनी शासन कायम गर्न सहयोग पु¥याउनेछ । साथै, स्थानीय प्रशासन, भन्सार, यातायात कार्यालय र सुरक्षा निकायबीचको समन्वय सुदृढ भई कार्यान्वयन पक्ष अझ प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ ।
यातायात व्यवसायीहरूले निर्णयको स्वागत गर्दै अब कार्यान्वयन पक्षमा कुनै कमजोरी नहोस् भन्ने माग गरेका छन् । उनीहरूका अनुसार यदि निर्णय प्रभावकारी रूपमा लागू भएमा स्थानीय यातायात व्यवसायलाई राहत मिल्नुका साथै सीमावर्ती क्षेत्रमा देखिँदै आएको अव्यवस्था नियन्त्रणमा आउनेछ ।