शुक्रबार, बैशाख ११, २०८३

समयमै उद्दार नहुँदा नदीमा फसेको बाघको बच्चाको मृ!त्यु, जिम्मेवारीमाथि प्रश्न

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१ चाँदनीस्थित गैरीशंकर सामुदायिक वन क्षेत्र नजिकै जगबुढा नदीको हिलो र पानीमा फसेको बाघको बच्चाको समयमै उद्दार नहुँदा मृत्यु भएको छ। बुधबार बिहान बगिनी आमासँगै देखिएको बाघको बच्चा नदीको हिलोमा फसेको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरी, वन कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई खबर गरेका थिए।

खबर पाएपछि निकुञ्जको टोली घटनास्थल पुगे पनि तत्काल उद्दार नगरी फर्किएको बताइएको छ। स्थानीयका अनुसार बिहान जिउँदै देखिएको बाघको बच्चा साँझ मृत अवस्थामा फेला परेको हो। अत्यधिक चिसो र हिलो–पानीमा लामो समय फसेका कारण मृत्यु भएको अनुमान गरिएको छ।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ डिभिजनल वन अधिकृत सुरेन्द्रचन्द्र डिसीले निकुञ्जको गैरजिम्मेवारीपनका कारण बाघको बच्चाको ज्यान गएको दाबी गरेका छन्। उनका अनुसार उद्दार गरी बगिनी गएको क्षेत्र नजिकैको जंगलमा छाड्न सकिन्थ्यो। ‘उद्दारका लागि गएको टोली किन फर्कियो भन्ने प्रश्न गम्भीर छ,’ उनले भने।

यता शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले भने घटनालाई संयोगजन्य भन्दै बच्चाको मृत्यु भएको बताएका छन्। केही दिनअघि मात्र कञ्चनपुरमै बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि मानव–वन्यजन्तु द्वन्द्व र संरक्षण व्यवस्थापनबारे थप चासो बढेको छ।