अत्तरिया – कैलालीको अत्तरियामा पुस ९ गते देखि सञ्चालन भएको ‘सृजनशील गोदावरी सांस्कृतिक महोत्सव २०८२’ सम्पन्न भएको छ । सोमबार १३ औँ दिनमा चर्चित कलाकार दुर्गेश थापाको अन्तिम प्रस्तुति राखेर महोत्सव सम्पन्न भएको हो । १३ दिनसम्म चलेको महोत्सवमा सभ्य र भव्य रूपमा सम्पन्न भएको आयोजक न्यु सृजनशील युवा क्लबले जनाएको छ । महोत्सवको समापन सत्रमा बोल्दै क्लबका अध्यक्ष नर बहादुर राईले महोत्सव सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यावाद ज्ञापन गरे ।
उनले भने ‘हामी बिचमा ब्रेक लिएपछि पुनः नयाँ ढङ्गमा, नयाँ महोत्सव, नयाँ उत्साहका साथ सञ्चालनमा ल्याएका थियो । यस सृजनशील गोदावरी सांस्कृतिक महोत्सवलाई यहाँ सम्म पुगाउन सहयोग गर्नुहुने सबैमा धन्यावाद ज्ञापन गर्दछौ ।’ उनले महोत्सवमा दर्शकहरूले उल्लेख्य साथ पाएको बताए । ‘प्रत्येक दिन महोत्सवमा उल्लेख्य सहभागिता रहेको थियो’ उनले भने ‘दर्शकहरूको उपस्थितिले हामीलाई पुनः आगामी दिनमा महोत्सव सञ्चालन गर्नका लागि जोस जाँगर हौसला प्रदान गरेको छ । अर्को वर्ष भेट हुने बाचा गर्दछौ ।’ उनले महोत्सवको प्रत्येक टिकटबाट ५ प्रतिशत असहाय बालबालिका र महिलाहरूका लागि छुट्टाएको बताए ।
महोत्सव समापन कार्यक्रमका प्रमुख अतिथि रहेका सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टी एन जोशीले अत्तरियामा क्लबले भव्य महोत्सव आयोजना गरेकोमा क्लबलाई धन्यावाद ज्ञापन गरे । उनले सबै पक्षलाई मिलाएर कुशलता पूर्वक महोत्सव सम्पन्न गरिएको बताए । उनले महोत्सवले यस क्षेत्रको कला, संस्कृतिको संरक्षणका महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
‘सुदूरपश्चिम प्रदेशमा धेरै मेला महोत्सव, सांस्कृतिक कार्यक्रम भएका छन् । तर, हाम्रो पहिचानको मुद्दा पछाडि परिरहेको हो की जस्तो मलाई लागिरहेको छ । आज देशमा संघीयता आएको छ । सङ्घीयताको मूल मर्म हाम्रो पहिचान थियो । त्यो पहिचान सँग यो गोदावरी सांस्कृतिक महोत्सव जोडिएको छ । आज हाम्रा मौलिक परम्पराहरू हाम्रो संस्कृति हाम्रो रीतिरिवाज हाम्रो पर्यटन हाम्रो खानपान हाम्रा भेषभूषाहरु हामीलाई चिन्ता लागिरहेको थियो’ उनले भने ‘ यत्रो भव्य महोत्सव मार्फत थुप्रै कलाकारहरूले मौका पाएका छन् ।’ उनले महोत्सवले वर्षमा एक पटक मानिसहरूले रिफ्रेसमेन्ट हुने मौका पाएको उनले बताए ।
उनले भने ‘यो भन्दा अघि पनि अत्तरियामा महोत्सव भए पनि यो खालले राष्ट्रिय स्तरका कलाकारहरूलाई अत्तरियामा उतारेर सबैलाई प्रफुल्ल मुद्रामा पठाएर यती ठुलो व्यवस्थापन गर्न सक्नु कुनै चानचुने कुरा होइन ।’
समापन कार्यक्रममा बोल्दै युवा नेता लोक राज पाण्डेय (आगो) ले महोत्सव आयोजना गर्नका लागि निमार्ण गरिएको मञ्चले अत्तरियाले सधैँका लागि खुला मैदान पाएको बताए । उनले अब यसको संरक्षणमा गरेर सृजनशीले खेल मैदान नामकरण गरिनुपर्ने बताए ।
अत्तरियामा पहिलो पटक न्यु सृजनशील युवा क्लबले नै २०६७ सालमा महोत्सव आयोजना गरेको थियो । त्यसपछि २०७२ देखि २०८० सम्म भने अत्तरिया उद्योग वाणिज्य संघले अत्तरियामा ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ आयोजना गरेको भए पनि आन्तरिक विवादका कारण गत वर्ष संघले महोत्सव आयोजना गर्न सकेको थिएन ।
यस वर्ष पनि अत्तरिया उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न सक्ने अवस्था नदेखिएपछि क्लब अघि सरेको थियो । यस वर्षको महोत्सवमा १८० वटा स्टल राखिएका थिए भने महोत्सवमा थारु गाउँ, रमाइलो मेला राखिएको थियो । महोत्सव अवधिमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूले आफ्ना प्रस्तुति राखेका थिए ।