शुक्रबार, बैशाख ११, २०८३

लागूऔषध न्यूनीकरणका लागि सुदूरपश्चिममा प्रदेशस्तरीय अभिमुखिकरण तथा प्रभातफेरी कार्यक्रम सम्पन्न

कञ्चनपुर: सुदूरपश्चिम प्रदेशलाई लागूऔषधमुक्त बनाउने उद्देश्यसहित प्रदेशस्तरीय प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालय तथा प्रदेश युवा परिषद्को आयोजनामा “लागूऔषधमुक्त प्रदेश–हाम्रो अभियान, हाम्रो पहिचान” भन्ने मूल नारासहित कार्यक्रम सञ्चालन गरिएको हो।

कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–२, वाणीस्थित जे.बी. एकेडेमीको सहकार्यमा २०८२ साल पौष २१ गते सोमबार आयोजित प्रभातफेरी विद्यालय परिसर तथा वाणी बजार क्षेत्र हुँदै सम्पन्न भएको थियो। प्रभातफेरीमार्फत लागूऔषधको दुरुपयोगले निम्त्याउने सामाजिक, पारिवारिक तथा व्यक्तिगत समस्याबारे जनचेतना फैलाउने उद्देश्य राखिएको थियो।

कार्यक्रमको अध्यक्षता प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्र सावदले गरेका थिए भने प्रमुख अतिथिका रूपमा सामाजिक विकास मन्त्रालय, राज्य मन्त्री सरस्वती खड्का उपस्थित रहेकी थिईन। विशिष्ट अतिथिका रूपमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओमबहादुर राना उपस्थित रहेका थिए। प्रमुख अतिथि राज्य मन्त्री खड्काले लागूऔषध युवापुस्ताका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सरकार, समुदाय, विद्यालय तथा अभिभावकबीच सशक्त समन्वय आवश्यक रहेको बताईन

लागूऔषधमुक्त समाज निर्माण सरकारको मात्र नभई सम्पूर्ण नागरिकको साझा जिम्मेवारी भएको उनको भनाइ थियो। कार्यक्रममा सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनारले लागूऔषधसम्बन्धी कानुनी व्यवस्था, दण्ड–जरिवाना तथा यसका सामाजिक असरबारे प्रशिक्षणात्मक प्रस्तुति दिएका थिए।

त्यस्तै डिआइजी रानाले लागूऔषध नियन्त्रणमा प्रहरीको भूमिका र समुदाय–प्रहरी साझेदारीको महत्वबारे जानकारी गराए। कार्यक्रमको सञ्चालन हरि जोशीले गरेका थिए।

जे.बी. एकेडेमीका प्रधानाध्यापक जगदीश सेट्टीले स्वागत मन्तव्य राख्दै विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता जनचेतनामूलक अभियानमा निरन्तर सहकार्य गर्दै आएको बताए। विद्यार्थी, शिक्षक, अभिभावक, युवा, स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागितासहित प्लेकार्ड, ब्यानर र चेतनामूलक नारासहित सम्पन्न प्रभातफेरीले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्। कार्यक्रमको अन्त्यमा आयोजक प्रदेश युवा परिषद्ले लागूऔषधविरुद्धको अभियानलाई निरन्तरता दिँदै सुदूरपश्चिम प्रदेशलाई लागूऔषधमुक्त बनाउने लक्ष्यसहित यस्ता गतिविधिहरू आगामी दिनमा पनि सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेको छ।