राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का पूर्वपदाधिकारी तथा थरुहट/थारुवान अभियन्ताहरूबीच सोमबार राष्ट्रियसभा गृहमा आयोजित एकता–समायोजन कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरी मञ्चमा देखिएपछि दल प्रवेशको चर्चा चलेको थियो। तर चौधरीले आफू कुनै पनि दलमा प्रवेश नगरेको स्पष्ट पारेका छन्।
नाउपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित चौधरीका अनुसार कार्यक्रमस्थलमा उनको उपस्थिति गलत बुझाइका कारण भएको हो। उनले भने, “आफ्नो निर्वाचन क्षेत्रका सडक र पुल निर्माणका विषयमा मन्त्री कुलमान घिसिङलाई भेट्ने प्रयासमा थिएँ। रास्वपाको कार्यक्रममा उहाँ आउने जानकारी पाएपछि म पनि त्यहाँ पुगेँ। तर, प्रवेश सूचीमा नाम राखिएछ र झुक्किएर मञ्चसम्म पुगेँ। म रास्वपामा प्रवेश गरेको होइन।”
कार्यक्रममा देखिएको उपस्थितिलाई लिएर फैलिएको भ्रमबारे स्पष्ट पार्दै चौधरीले आफ्नो राजनीतिक हैसियत यथावत् रहेको बताए। साथै, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले केही समयअघि नेकपा (एमाले)सँग गरेको एकताबारे आफूलाई कुनै जानकारी नरहेको पनि उनको भनाइ छ।
उल्लेखनीय छ, लक्ष्मणकिशोर चौधरी नागरिक उन्मुक्ति पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नम्बर–१, प्रदेशसभा (२) मा विजयी भएका हुन्। सुदूरपश्चिम प्रदेशसभामा नाउपाका सात सांसद रहेका छन्।