बिहिबार, बैशाख १०, २०८३

बैंकले लिलाम गरेको घर बिप्लब माओवादीको कब्जामा

धनगढी । एनएमबी बैंक कञ्चनपुरले शुक्लाफाँटा नगरपालिका –१० का अजय विकको लिलाम गरेको घरलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कब्जामा लिएको छ । बैंक कर्मचारीले जग्गा दलालसित मिलेमतोमा झलारी बजारमा रहेको पाँच धुरमा बनेको साढे तीन तलाको घर नेकपा माओवादी ले कब्जामा लिएको हो । उक्त घरमा पार्टीको झन्डा र कार्यालय राखेर आफ्नो कब्जामा लिएको सो दलले जानकारी दिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुर जिल्लाका न्याँय बिभाग प्रमुख रमन सीले बिक परिवारलाई जानकारी नदिएर बैकले लिलाम गरेको भन्दै घर कब्जामा लिएको बताए । उनले पीडित बिक परिवारलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै न्यायोचित ढङ्गले छानबिन नभएसम्म घर कब्जामा रहने बताए । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य ललितजंग सीले अजय विकको घर जग्गा दलालसँग मिलेमतो गरी बैंकले लिलाम गरी परिवारलाई बिचल्लीमा पारेको कारण घर कब्जामा लिएको बताए ।

अहिले उक्त घर पुर्णरुपमा पार्टीको कब्जामा रहेकाले कसैले प्रयोग गर्न नपाउने उहाँको भनाइ छ । एनएमबी बैकले विकले २०७५ मा लिएको ऋणको सावा ब्याज तिर्न आनाकानी गरेको भन्दै दुई वर्षअघि २०८० चैतमा विकले बैंकमा राखेको दुई करोड मूल्य बराबरको घर लिलाम गरेको थियो ।

एनएमबी बैंकले शुक्लाफाँटा नगरपालिका –१० का अजय बिकको धितो लिलाममा जालसाजी र किर्ते गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालयमा तीन जनाविरुद्ध जाहेरी परेको छ । लिलामी घर किन्ने धिरेन्द्र साउँद र उहाँकी श्रीमती तुलसीकुमारी डाँगा र बाटो सिफासित दिने वडा १० का वडासचिव जुनाकुमारी शेरा विरुद्ध जाहेरी परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

१५ वर्षको कर्जा भुक्तानी अवधी राखी बिकले होमलोन शिर्षकमा २९ लाख ५० हजार ऋण लिएका थिए । बैंकले लिलामीका लागि १५ दिने सूचना निकालेको थाहा पाएपछि अजयले लिलामी न गरिदिन भन्दै ३ लाख नगद र एक लाखको चेक बोकेर एनएमबी बैंकमा जादाँ पनि पैसा नबुझेको उहाँको आरोप छ ।