धनगढी । राष्ट्रिय अटिज्म केयर सेन्टर सोसाइटी नेपाल अन्तर्गत सञ्चालित हिमालय स्पेशल स्कुल फर अटिज्म एण्ड रिह्याबिलिटेशन सेन्टरमा एक वर्ष सेवा गरेकी कोइका (KOICA) की स्वयंसेवक योङ मेइङ (सपना)को विदाइ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष रमेश कुमार बस्नेतले सपना म्यामले एक वर्षको अवधिमा विद्यालयमा पुर्याएको योगदानले संस्थालाई थप ऊर्जा र प्रेरणा दिएको बताए। उनले अटिज्म भएका बालबालिकाको शिक्षण तथा पुनःस्थापनाको क्षेत्रमा गरेको सेवाका लागि कोइका नेपाल र सपना म्यामप्रति आभार व्यक्त गरे।
त्यसैगरी समाजसेवी चेतराज भट्टराईले अध्यक्ष बस्नेतले अटिज्म भएका बालबालिकाको क्षेत्रमा रिह्याबिलिटेशन सेन्टर स्थापना गरी निरन्तर काम गर्दै आएकोमा धन्यवाद दिए। उनले अभिभावकहरूलाई पनि चेतनशील भई बालबालिकाको भविष्यका लागि सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्दै शुभकामना व्यक्त गरे। कोइका नेपालबाट आउनुभएकी सपना म्यामले एक वर्षसम्म विद्यालयमा राम्रो काम गरेको भन्दै उनको विदाइ कार्यक्रम आयोजना गरिएको बताए।
विदाइ कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी, नृत्य तथा भजन–कीर्तन प्रस्तुत गरिएको थियो। कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
