बुधबार, बैशाख १६, २०८३

राष्ट्रिय योग दिवसको अवसरमा धनगढीमा पतंजलि योग समितिको बृहत रक्तदान, २३ पिन्ट रगत संकलन

 

धनगढीः
पतंजलि योग समिति धनगढीले राष्ट्रिय योग दिवसको अवसरमा धनगढीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। समितिले आज धनगढीस्थित आफ्नै भवन परिसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा २३ पिन्ट रगत संकलन गरिएको जनाएको छ।

पतंजलि योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लव देव मिश्रले राष्ट्रिय योग दिवसको मुख्य कार्यक्रमका रूपमा रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनले पतंजलि योग समितिले दैनिक रूपमा योग प्रशिक्षण गराउँदै आएको र प्रत्येक वर्ष राष्ट्रिय योग दिवसको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गर्दै आएको बताए।

पतंजलि योग समिति धनगढीका अध्यक्ष कुलराज जोशीले यस वर्ष पनि सबै योगीहरूको उत्साहपूर्ण सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताए। उनले समितिले निरन्तर रूपमा सामाजिक सेवाका गतिविधिहरू गर्दै आएको उल्लेख गरे।

यसैगरी, पतंजलि योग समिति कैलालीका जिल्ला अध्यक्ष रमा जोशीले एक पिन्ट रगतले पनि कसैको जीवन बचाउन सकिने विश्वासका साथ निरन्तर रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको बताइन्।

पतंजलि योग समितिले योग प्रशिक्षणसँगै विभिन्न समयमा सामाजिक कार्यहरू गर्दै समाजसेवामा सक्रिय भूमिका खेल्दै आएको जनाएको छ।