बिहिबार, बैशाख १०, २०८३

धनगढी चौराहामा देखियो प्रहरीको मानवीय अनुहार, १० वर्षपछि स्वदेश फर्किएका प्रेमबहादुरलाई दुई प्रहरीद्वारा तत्काल उद्धार

धनगढी ।
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–अन्तर्गत विशाल नगर, धनगढी चौराहा नजिकै ग्यानु प्लाजाको अगाडि बिरामी अवस्थामा अलपत्र परेका एक पुरुषलाई दुई जना प्रहरीले मानवीय संवेदनशीलता देखाउँदै समयमै उद्धार गरेका छन्।
अस्वस्थ अवस्थामा फेला परेका व्यक्ति कालिकोट जिल्लाको पलटा गाउँपालिका–१ का अन्दाजी ५८ वर्षीय प्रेमबहादुर सार्की हुन्। उनी भारतको दिल्लीमा करिब १० वर्षसम्म बसोबास गरेपछि स्वदेश फर्किएको बताइएको छ। घर फर्किने क्रममा स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि उनी धनगढी चौराहामै कमजोर र असहाय अवस्थामा पुगेका थिए।
घटनास्थलमा पुगेका प्रहरी हवलदार नरेन्द्र बडाल र प्रहरी जवान सन्तोष मल्लले सडक छेउमै छटपटाइरहेका सार्कीलाई देखेपछि बेवास्ता नगरी तत्काल उद्धार कार्य अघि बढाएका हुन्। प्रहरीले मानवीय जिम्मेवारी वहन गर्दै उनको स्वास्थ्य अवस्थाको प्रारम्भिक मूल्याङ्कन गरी सुरक्षित स्थानमा राख्दै उपचारको व्यवस्था मिलाएका थिए।
प्रहरीका अनुसार प्रेमबहादुर सार्कीका आफन्तसँग सम्पर्क भइसकेको छ। उनलाई सेती प्रादेशिक अस्पताल लगेर उपचार गरिने तयारी गरिएको छ भने आफन्तहरू भोलि आएर बुझ्ने बताएका छन्। समयमै गरिएको उद्धारले उनको अवस्था थप जटिल हुनबाट जोगिएको जनाइएको छ।
घटनाबारे जानकारी पाएपछि स्थानीय बासिन्दाहरूले पनि दुई प्रहरीद्वारा देखाइएको यो मानवीय कार्यको उच्च प्रशंसा गरेका छन्। “आजकल यस्ता मानवीय काम कम देखिन्छन्, प्रहरीले देखाएको यो व्यवहार प्रशंसनीय छ,” एक स्थानीयले भने।
विदेशमा दशक बिताएर स्वदेश फर्किएका एक नेपाली नागरिकलाई संकटको घडीमा सहारा बनेर दुई प्रहरीद्वारा गरिएको यो कार्यले नेपाल प्रहरी केवल सुरक्षा निकाय मात्र होइन, मानवताको संरक्षक पनि हो भन्ने सन्देश दिएको छ।