धनगढी, २ माघ / आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कैलाली जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। धनगढी स्थित स्वास्थ्य तालिम केन्द्रको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। कैलालीका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश भुवन सिंह थापाले एक कार्यक्रमका बीच कार्यालयको औपचारिक उद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै उहाँले जिल्लाभर निर्वाचनसम्बन्धी आवश्यक तयारीका कामहरू तीव्र रूपमा अघि बढिसकेको जानकारी दिनुभयो। निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गराउने उद्देश्यले कार्यालय स्थापना गरिएको उहाँको भनाइ थियो।
निर्वाचन कार्यालयका अनुसार कैलाली जिल्लामा हाल कुल ५ लाख ५१ हजार ५२ जना मतदाता रहेका छन्। सोही संख्यालाई आधार मानेर मतदान केन्द्रहरूको व्यवस्थापन गरिएको जनाइएको छ। मतदातालाई सहज रूपमा मतदान गर्न सक्ने वातावरण तयार पार्न मतदान केन्द्रहरूको संख्या, स्थान तथा आवश्यक पूर्वाधारको व्यवस्थापनमा विशेष ध्यान दिइएको कार्यालयले जनाएको छ। निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन सुरक्षाको व्यवस्था कडाइका साथ मिलाइने भएको छ। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, मतदाता तथा सर्वसाधारणको पूर्ण सुरक्षा सुनिश्चित गर्नेगरी विस्तृत सुरक्षा योजना तयार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार निर्वाचन अवधिभर आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गरिनेछ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै निर्वाचनसम्बन्धी कार्यतालिका पनि सार्वजनिक भइसकेको छ। कार्यतालिका अनुसार यही माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता गरिनेछ। त्यससँगै उम्मेदवारको नामावली प्रकाशन, दाबी–विरोध, अन्तिम नामावली प्रकाशन लगायतका प्रक्रिया तोकिएको समयमै सम्पन्न गरिने जनाइएको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचनका लागि आवश्यक कर्मचारी व्यवस्थापन, निर्वाचन सामग्री संकलन, मतदान केन्द्रको व्यवस्थापन तथा मतपेटिका लगायत सामग्रीको तयारीलाई तीव्र पारिएको छ। प्रदेश निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टले प्रदेशभर निर्वाचनका लागि आवश्यक सामग्री व्यवस्थापन प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।
निर्वाचन कार्यालयले निर्वाचनलाई सफल बनाउन राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा सर्वसाधारण सबैको सहयोग अपरिहार्य हुने उल्लेख गर्दै सबैलाई आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आग्रह गरेको छ। उद्घाटन कार्यक्रममा प्रदेश स्वास्थ्य तालिम केन्द्र धनगढीका प्रमुख नरेन्द्र सिंह कार्की, कैलाली जिल्ला अदालतका श्रेस्तेदार चेतराज पन्त, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख नरेन्द्र चन्द, सशस्त्र प्रहरी बल नम्बर ३४ गणका प्रमुख सुरेन्द्र रञ्जितलगायतको उपस्थिति रहेको थियो।