बिहिबार, बैशाख १०, २०८३

थारु समुदायमा माघीको रौनक सँगै नयाँ जिम्मेवारीको बहस

थारु समुदायले माघी पर्व धूमधामका साथ मनाइरहेका छन् । माघ १ गतेलाई नयाँ वर्षका रूपमा समेत मनाउने यो समुदायमा पुस ३० गते देखि माघीको रौनक सुरु हुन्छ । थारु समुदायले माघीलाई आफ्नो सबैभन्दा ठुलो पर्वका रूपमा मनाउने गर्दछन् । माघीको मुख्य दिन माघ १ गते बिहान थारु समुदाय नदीमा नुहाउन जाने चलन पनि छ । नुहाइ सकेपछि दिनभरि मिठो खाने नाचगान गर्ने चलन छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका – ७ शान्तिपुरका बल राम चौधरीले माघ १ गते बिहान नदीहरूमा स्नान गरेपछि दिनभरि मगौटा नाच नाचिने बताए । उनले मगौटा नाच गर्न आउनेलाई घर घरबाट कोसेली दिइने बताए । ‘माघ १ गते रमाइलो गर्न मै बित्छ’ उनले भने ‘माघ २ गते देखि गाउँमा कसलाई भलमन्सा बनाउने भन्ने बहस सुरु हुन्छ ।’

थारु समुदायमा मुख्य व्यक्तिको रूपमा रहने भलमन्सालाई सकभर सर्वसम्मतिले र त्यसो हुन नसके निर्वाचन प्रक्रिया अथवा गोला प्रथा प्रक्रिया अपनाएर छनौट गर्ने गरिन्छ । कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने थारु समुदायमा माघको पहिलो साता भित्र भलमन्सा चुनिसक्ने गरिन्छ ।

गाउँको भलमन्सा पदमा चुनिने व्यक्तिको घरलाई यो समुदायमा ‘बडघर’ को रूपमा चिन्ने गरिन्छ । बडघरले लाए अह्राएका कामहरू गाउँका अन्य सदस्यले मान्नुपर्ने हुन्छ । यस्तो प्रचलनका कारण नै गाउँको अनुशासन कायम हुने र सामूहिकतामा काम गर्ने सदियौँदेखिको प्रचलन थारु गाउँमा रहने गरेको छ ।

यस्तो परम्पराले गाउँको एकता र सामूहिकताको विकास हुने मात्र नभई गाउँमा अनुशासन कायम गर्नमा टेवा पुग्ने गरेको थारु बुद्धिजीवी बताउन्छन । थारु गाउँमा सदियौँदेखि यस्तो प्रचलन रहेकाले नेतृत्वकर्ताको बेग्लै महत्त्व र सम्मान हुने गरेको बताइन्छ । कामको मूल्याङ्कनका आधारमा निजलाई पुनः सोही पदको जिम्मेवारी प्रदान गर्ने गरिन्छ ।

समग्र गाउँको संरक्षण गर्ने, विकास निर्माणका काम गर्ने, कुलो पानी, बिजुली बत्तीको व्यवस्था गर्ने, गाउँघरमा आइपर्ने दुःख सुखमा सामूहिक सहयोग गर्ने गराउने जस्ता काम गाउँको नेतृत्वकर्ता (भलमन्सा) ले गर्ने गर्दछन् । भलमन्साको आदेशमा गाउँका यावत काम गर्नुपर्नेलाई ‘बेगारी’ जाने भनिन्छ । बेगारी जान नसक्नेले जरिवानासमेत तिर्नुपर्ने हुन्छ ।

भलमन्सा लगायतका पदमा काम गर्दै आएका व्यक्तिको ‘घर फाटे’ मा (अंशबन्डा भएमा) निजलाई सकभर उक्त पदको जिम्मेवारीबाट मुक्त गरिन्छ । अंशबन्डा भएर अलग घर बनाएर बस्नुपर्ने अवस्थामा निजले भलमन्सा र आफ्नो घरको समेत गरेर दोहोरो जिम्मेवारी बहन गर्न नसक्ने हुँदा भलमन्सा पदबाट मुक्त गर्ने गरिन्छ ।

भलमन्सा पदको जिम्मेवारी वहन गर्ने अधिकांशले स्वयंसेवीका रूपमा काम गर्ने गरेका छन्। कतिपय गाउँमा भने यो पदमा बसेर काम गर्नेलाई समुदायको निर्णयअनुसार पारिश्रमिकको रूपमा खाद्यान्न उपलब्ध गराउने गरिन्छ । पछिल्ला वर्षमा समुदायमा रहेको सकारात्मक अभ्यास, परम्परा र संस्कृतिको संरक्षणका कामलाई अगाडि बढाउन टेवा पु¥याइरहेको यो प्रजातान्त्रिक पद्धति बडघर प्रथालाई जीवन्त राख्नुपर्ने आवाज उठ्न थालेको छ ।

आदिवासी र भुमीपुत्रका रूपमा चिनिँदै आएका थारु समुदायले माघीमा वर्ष भरी के गर्ने भनेर योजना समेत बनाउने गरेका छन् । थारु बुद्धिजीवीहरूका अनुसार घरपरिवार र समाजलाई कसरी अगाडि बढाउने भनेर गम्भीर रूपमा छलफल गर्ने र बर्सभरिको लागि योजना तय गर्ने गरिएकाले पनि यसलाई नयाँ आर्थिक वर्षको रूपमा लिइएको हो ।

पछिल्लो समय माघी पर्वका अवसरमा थारु बाहुल्य बस्तीहरूमा माघी मेला र महोत्सव आयोजना गरिँदै आएको छ । ठाउँ–ठाउँमा हुने माघी महोत्सवमा थारु गीत र नाच प्रस्तुत गर्ने, थारु संस्कृति झल्किने परम्परागत पहिरन, भेसभुसा, थारुहरूको मौलिक खानाको परिकार घोगी, ढिक्रीलगायत फुड फेस्टिभल एवं सांस्कृतिक झाँकी, नाचगान, हस्तकला प्रदर्शनीजस्ता कार्यक्रम गरिन्छ । यस्ता कार्यक्रम माघ महिना भरी पनि आयोजना गरिँदै आएका छन् । कैलालीको गोदावरीमा पनि माघ १२, १३ र १४ गते नगर स्तरीय थारु महोत्सव आयोजना गरिँदै छ ।