बिहिबार, बैशाख १०, २०८३

यस वर्ष आठौं प्रदेश सभा दिवसमा भएनन औपचारिक कार्यक्रम

धनगढी– आठौं प्रदेश सभा दिवस यस पटक सुदूरपश्चिममा औपचारिक कार्यक्रम आयोजना गरिएन । सुदूरपश्चिम प्रदेश सभाले हरेक वर्ष माघ ७ गते बनाउँदै आएको प्रदेश सभा दिवसमा यसपाली प्रनितिधि सभा निर्वाचनको आचारसंहिता लागु भएकोले औपचारिक कार्यक्रम नगरिने प्रदेश सभा सचिवालयले जनाएको छ ।
मंगलबार भएको प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ताका लागि प्रदेश सभा सदस्य तथा सरकारका मन्त्रीहरु प्रदेश राजधानी धनगढीमा नरहेकोले पनि औपचारिक कार्यक्रम नराखिएको प्रदेश सभाका सचिव देवबहादुर बोगटीले बताए ।
‘प्रदेश सभा दिवसमा औपचारिक कार्यक्रम राख्दा माननीयज्युहरुले राजनीतिक भाषण गरिहाल्ने भएको हुँदाका त्यस किसिमको कार्यक्रम नराख्न निर्वाचन आयोगबाट सुझाव आएको थियो,’ सचिव बोगटीले भने, ‘माननीयज्युहरु पनि नेताको उम्मेदावरी दर्ताका लागि निर्वाचन क्षेत्रमा जानु भएको छ । सरकारका मन्त्रीहरु पनि सबै जना उपलब्ध हुनुहुन्न । यो माहोलमा औपचारिक कार्यक्रम उपयुक्त नभएकोले राखिएन ।’
२०७४ माघ ७ गते सुदूरपश्चिम प्रदेशमा प्रदेश सभाको पहिलो बैठक बसेको थियो । सोही दिनको सम्झानामा प्रदेश सभा दिवस बनाइदै आएको छ । प्रदेश सभाले पहिलो कार्यकालमा ६२ वटा नयाँ कानुन बनेको भएपनि दोस्रो कार्यकालमा केही कानुनहरु संशोधन भएका छन् । दोस्रो कार्यकालको तीन वर्षमा एउटा मात्रै मुल कानुन बनेको छ भने पाँच वटा ऐन संशोधन भएको छ । एउटा सामयिक राजश्व संकलन सम्बन्धी अध्यादेश पारित भएको थियो । प्रदेश सरकारले कानुन निर्माणलाई प्राथमिकतामा नराख्न प्रदेश सभाको बैठक समेत उल्लेख्य संख्यामा बस्न सकेको छैन ।
दोस्रो कार्यकालमा तीन वटा बजेट पारित भएको छ भने चार पटक सरकार परिवर्तन भएको छ । प्रदेश सरकारले प्रदेश सभामा तीन वटा मुल कानुनको विधेयक र तीन वटा संशोधन विधेयक दर्ता गराएको भएपनि सो विधेयकहरु मध्ये दुई वटामा मात्रै प्रदेश सभा सामान्य छलफल भएको छ । दुई वटा विधेयक सभामा टेबुल भएको छ भने दुई वटा विधेयक संसदको कार्यसूचिमै परेको छैन ।