बिहिबार, बैशाख १०, २०८३

शुक्लाफाँटा निकुञ्जमा दुई दिनका लागि खरखडाइ खुला

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि दुई दिन खरखडाइ खुला गरेको छ। निकुञ्ज कार्यालयका अनुसार माघ २२ र २३ गते स्थानीय बासिन्दालाई निकुञ्जभित्रबाट खरखडाइ सङ्कलन गरी निकासी गर्न अनुमति दिइएको हो।

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले खरखडाइ खुला गर्दा निकुञ्ज सरसफाइ हुनुका साथै कमजोर आर्थिक अवस्था भएका मध्यवर्ती क्षेत्रका बासिन्दालाई घरगोठ छाउन आवश्यक खर उपलब्ध हुने बताए। उनका अनुसार माघ २२ र २३ गते पश्चिमी सेक्टरमा तथा पुस २५ गते पूर्वी सेक्टरमा प्रवेशको व्यवस्था गरिएको छ। खरखडाइका लागि प्रतिव्यक्ति ५० रुपैयाँको टिकट अनिवार्य गरिएको छ।

खरखडाइका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म निकुञ्ज क्षेत्रमा प्रवेश गर्न पाइनेछ। यस अवधिमा हुन सक्ने चोरी–सिकारी नियन्त्रणका लागि नेपाली सेना र निकुञ्जका कर्मचारी परिचालन गरिने निकुञ्ज कार्यालयले जनाएको छ।

सूचना अधिकारी वाग्लेले खरखडाइले निकुञ्जभित्रका सुकेका घाँस व्यवस्थापनमा सहयोग पुग्ने बताए। हरेक वर्ष घाँसे मैदान व्यवस्थापनमा ठूलो खर्च हुने भएकाले खरखडाइले खर्च घटाउँदै व्यवस्थापनमा समेत सहजता ल्याउने अपेक्षा गरिएको छ।