मङ्लबार, बैशाख ८, २०८३

जिल्ला प्रहरी कार्यालय कैलालीले चोरी भएको ३२ हजार मूल्यको साइकल धनीलाई बुझायो

धनगढी – धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित कैलाली पुल क्षेत्रबाट माघ १ गते चोरी भएको ३२ हजार रुपैयाँ मूल्य बराबरको साइकल जिल्ला प्रहरी कार्यालय कैलालीले फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।
साइकल चोरी भएको जानकारी पाएपछि साइकल धनी रोहित थापाको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी सहायक हवलदार जङ्गबहादुर आलेको नेतृत्वमा खटिएको टोलीले सक्रिय अनुसन्धान सुरु गरेको थियो। ६ दिनसम्मको खोजतलासपछि चोरी भएको साइकल फेला पार्न सफल भई धनीलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त साइकल चोरीमा संलग्न व्यक्तिहरू नाबालक रहेको र उनीहरू धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू रहेको खुलेको छ। नाबालक भएकाले आवश्यक कानुनी प्रक्रिया पूरा गरी अभिभावकको जिम्मामा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
पछिल्लो समय धनगढी क्षेत्रमा साइकल चोरीका घटनाहरू बढ्दै गएकाले यस्ता घटनाहरू नियन्त्रण गर्न प्रहरी सक्रिय रूपमा परिचालन भइरहेको जनाएको छ। साथै, कुनै पनि स्थानमा चोरी वा शंकास्पद गतिविधि भएमा नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय कैलालीमा तुरुन्त जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरिएको छ।