मङ्लबार, बैशाख ८, २०८३

कैलाली क्षेत्र नं ५ का उम्मेदवारसँग आचारसंहिता सम्बन्धी छलफल

धनगढी ९ माघ/प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कैलाली क्षेत्र नं ५ का उम्मेदवारहरूसँग निर्वाचन आचारसंहिता सम्बन्धी छलफल भएको छ। कैलालीका मुख्य निर्वाचन अधिकृत भुवनसिंह थापाको अध्यक्षतामा शुक्रबार धनगढीमा आयोजित उक्त कार्यक्रममा उम्मेदवारहरूलाई निर्वाचन अवधिमा पालना गर्नुपर्ने आचारसंहिताका प्रावधानबारे विस्तृत जानकारी गराइएको हो।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत थापाले स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन सम्पन्न गराउन सबै उम्मेदवार, राजनीतिक दल तथा सरोकारवालाको भूमिका महत्वपूर्ण हुने बताएका छन्। उनले आचारसंहिता उल्लंघन भएमा कानुनी कारबाहीको प्रक्रिया अघि बढ्ने स्पष्ट पार्दै सबै उम्मेदवारलाई नियमको पूर्ण पालना गर्न आग्रह गरे ।

छलफलका क्रममा निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले कार्यपत्र प्रस्तुत गरी निर्वाचन आचारसंहिता अनुसार प्रचार-प्रसारका सीमा, सरकारी स्रोत साधनको प्रयोग, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, मतदातालाई प्रभाव पार्ने गतिविधि तथा निषेधित कार्यहरूबारे जानकारी गराएका थिए । साथै, निर्वाचन आयोगले तोकेको मापदण्डभित्र रहेर मात्र चुनावी गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा सहभागी उम्मेदवारहरूले आचारसंहिता पालना गर्दै लोकतान्त्रिक मूल्य-मान्यताको सम्मानका साथ निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको कैलाली क्षेत्र ५का निर्वाचन अधिकृतको कार्यालयका प्रबक्त चेतराज पन्तले जानकारी दिए । निर्वाचन अधिकृतको कार्यालयले यस्ता छलफल कार्यक्रमले उम्मेदवारहरूलाई सचेत बनाउँदै निर्वाचन प्रक्रियालाई थप पारदर्शी र विश्वसनीय बनाउने विश्वास उम्मेदबारहरुले बताएका छन् ।