मङ्लबार, बैशाख ८, २०८३

हिमपातका कारण अवरुद्ध राजमार्ग सञ्चालनमा

धनगढी: गएराति परेको बाक्लो हिमपातका कारण अवरुद्ध भएका सुदूरपश्चिम प्रदेशका विभिन्न प्रमुख राजमार्ग सञ्चालनमा आएका छन्। हिमपातका कारण बैतडी र डडेल्धुरा जिल्लाका उच्च पहाडी क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको थियो।

बैतडी जिल्लाको अनारखोली, खोडपे, श्रीभावर, सतबाँझ र देहिमाडौँ क्षेत्रमा बाक्लो हिमपात भएपछि दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गएरातिदेखि नै अवरुद्ध भएका थिए। राजमार्ग अवरुद्ध भएपछि ती क्षेत्र हुँदै सञ्चालन हुने साना तथा ठूला सबै प्रकारका सवारी साधनको आवागमन ठप्प भएको थियो। यात्रुहरू बाटोमै अलपत्र परेका थिए भने मालवाहक सवारी साधनहरू समेत रोकिएका थिए।