मङ्लबार, बैशाख ८, २०८३

प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेस कैलालीको प्रचार–प्रसार विभाग गठन, केशव मिश्र संयोजक

धनगढी– फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस कैलालीले प्रचार–प्रसार विभाग गठन गरेको छ । पार्टीका जिल्ला सचिव केशव मिश्रलाई उक्त विभागको संयोजकको जिम्मेवारी दिइएको छ ।

शुक्रबार धनगढीमा बसेको नेपाली काँग्रेस कैलालीको जिल्ला कार्यसमिति बैठकले मिश्रको संयोजकत्वमा प्रचार–प्रसार विभाग गठन गर्ने निर्णय गरेको हो । निर्वाचनको तयारीलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यले विभाग गठन गरिएको पार्टीले जनाएको छ ।

प्रचार–प्रसार विभागमा नेपाल प्रेस युनियन कैलाली जिल्ला कार्यसमिति तथा लम्की शाखाका कार्य समितिका पदाधिकारीहरू सदस्यका रूपमा रहने छन् । प्रेस युनियनसँग आबद्ध सञ्चारकर्मीहरूको अनुभव र सक्रियताले पार्टीका नीति, कार्यक्रम तथा उम्मेदवारका एजेन्डा आम मतदातामाझ सहज रूपमा पु¥याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

जिल्ला बैठकमा बोल्दै पार्टीका नेताहरूले निर्वाचन लोकतन्त्रको महत्वपूर्ण अभ्यास भएको उल्लेख गर्दै काँग्रेसलाई विजयी गराउन संगठन सुदृढीकरणसँगै प्रभावकारी प्रचार अपरिहार्य रहेको बताए । उनीहरूले प्रचार–प्रसार अभियान मर्यादित, तथ्यपरक र सकारात्मक हुनुपर्नेमा जोड दिए ।

प्रचार–प्रसार विभागका संयोजक केशव मिश्रले आफूलाई दिइएको जिम्मेवारीलाई गम्भीरतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पार्टीको ऐतिहासिक योगदान, वर्तमान राजनीतिक अवस्था र भावी योजनालाई जनतासमक्ष स्पष्ट रूपमा प्रस्तुत गर्ने गरी प्रचार अभियान सञ्चालन गरिने बताए ।

‘हामी परम्परागत प्रचारसँगै डिजिटल माध्यम, सामाजिक सञ्जाल र प्रत्यक्ष जनसम्पर्कलाई प्राथमिकतामा राखेर अघि बढ्छौं,’ मिश्रले भने, ‘स्वस्थ प्रतिस्पर्धाका लागि मर्यादित र तथ्यमा आधारित प्रचार नै हाम्रो मूल उद्देश्य हुनेछ ।’

बैठकमा आगामी निर्वाचनलाई केन्द्रित गर्दै संगठन विस्तार, वडा तथा टोल तहसम्म प्रचार संयन्त्र परिचालन, मतदाता भेटघाट कार्यक्रम र प्रशिक्षणसम्बन्धी विषयमा समेत छलफल भएको थियो । पार्टीले कैलाली जिल्लाका सबै निर्वाचन क्षेत्रमा समन्वयात्मक रूपमा प्रचार अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

नेपाली काँग्रेस कैलालीले प्रचार–प्रसार विभाग गठनसँगै निर्वाचन लक्षित गतिविधिहरूलाई थप तीव्र बनाउने अपेक्षा गरेको छ । विभागले स्थानीय तहसम्म पार्टीको सन्देश पु¥याउँदै जनमत सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास पार्टी नेतृत्वले लिएको छ ।