मङ्लबार, बैशाख ८, २०८३

‘सभ्य नागरिकको चिनारी, दुर्घटना न्युनिकरण हामी सबैको जिम्मेवारी’ — धनगढीमा ट्राफिक सप्ताह २०८२ सुरु

धनगढी — नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको आयोजनामा ‘सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्युनिकरण हामी सबैको जिम्मेवारी’ भन्ने मूल नाराका साथ ट्राफिक सप्ताह तथा सडक दुर्घटना न्युनिकरण विशेष अभियान २०८२ को सप्ताहव्यापी कार्यक्रम धनगढीमा औपचारिक रूपमा उद्घाटन गरिएको छ।

कार्यक्रमको पहिलो दिन धनगढीमा प्रभातफेरी आयोजना गरिएको थियो। नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, विभिन्न विद्यालयका विद्यार्थी तथा सरोकारवाला निकायको सहभागितामा पृथ्वी नारायण चोकदेखि धनगढी बजारसम्म बाजागाजासहित प्रभातफेरी निकालिएको हो। हुस्सु लागेका बेला फग लाइट प्रयोग गरौँ, मोटरसाइकल चालकले अनिवार्य हेल्मेट र फिता बाँधौँ, रातको समयमा हाई लाइटको दुरुपयोग नगर्नुहोस्, सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्नुहोस्, जेब्रा क्रसिङ प्रयोग गरौँ, तीव्र गतिले ज्यानधनको क्षति गर्छ, सिट क्षमताभन्दा बढी यात्रु नराखौँ, मादक तथा लागू पदार्थ सेवन गरी सवारी नचलाऔँ जस्ता सन्देश लेखिएका पम्पलेट र प्लेकार्ड प्रदर्शन गरिएको थियो।

उद्घाटन कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक प्रेम शाहीले प्रदेश तथा जिल्लास्तरमा भएका ट्राफिक कार्यसम्पादनको प्रस्तुति दिँदै ट्राफिक प्रहरीका प्रयास र आगामी योजनाबारे जानकारी गराए। उनका अनुसार सुदूरपश्चिम प्रदेशमा कच्ची सडक करिब २ हजार २२ किलोमिटर र ग्राभेल तथा कच्ची सडक ४ हजार ४२२ किलोमिटर रहेका छन्। साथै, कात्तिक मसान्तसम्म प्रदेशमा दर्ता भएका सवारी साधनको संख्या २ लाख १७ हजार २ सय ८७ पुगेको छ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक ओमबहादुर राना मगरले सवारी दुर्घटना न्युनिकरण सबैको साझा जिम्मेवारी भएको बताए। उनले भने, “एउटा हेलिकप्टर वा जहाजको पाइलट बन्न करोडौँ खर्च र महिनौँ तालिम चाहिन्छ, तर जमिनमा गुड्ने सवारी साधनका चालकको हकमा त्यति कडाइ देखिँदैन।” उनले सडक, मौसम र सवारी साधनको क्षमताअनुसार गाडी चलाउन चालकलाई आग्रह गर्दै सबै सवारी धनीले गाडीमा जीपीएस प्रणाली जडान गरी निगरानी गर्नुपर्ने सुझाव दिए। ट्राफिक सप्ताहले सुदूरपश्चिमलाई ठूला दुर्घटनाबाट जोगाउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।

कार्यक्रमकी विशिष्ट अतिथि तथा कैलाली जिल्लाकी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गरे सडक दुर्घटना कम गर्न सकिने बताइन्। उनले मादक पदार्थ सेवन गरी सवारी नचलाउन सबैलाई आग्रह गरिन्।

कार्यक्रमका सभापति तथा कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दुर्घटना हाम्रो घरछिमेकमै देख्नुपर्ने बाध्यता रहेको भन्दै दुर्घटना न्युनिकरणका लागि सबै जिम्मेवार बन्नुपर्ने बताए। उनले दुर्घटनाका चार ‘स’ उल्लेख गर्दै सवारी चालकको लापरवाही, सडकको अवस्था, सडकको दुरावस्था र सम्बन्धित निकायबीचको समन्वय अभाव दुर्घटनाका मुख्य कारण भएको बताए।

कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा, नेपाल यातायात व्यवसायी महासंघ सुदूरपश्चिम संयोजक टेकराज जोशी, यातायात व्यवस्था कार्यालय कैलालीका प्रमुख भुवन जोशी, निर्माण व्यवसायी संघका अध्यक्ष लक्ष्मण साउँद, सुन्दर सुदूरपश्चिम यातायात प्रा.लि.का अध्यक्ष पदम सापकोटा, पत्रकार, समाजसेवी, विद्यार्थी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको उल्लेख्य सहभागिता रहेको थियो।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी टेक जोराका अनुसार सप्ताहव्यापी कार्यक्रमअन्तर्गत दोस्रो दिनदेखि सबै ट्राफिक कार्यालयबाट चेकजाँच र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। विद्यालय, यातायात व्यवसायी, चालक, पैदलयात्री लक्षित कार्यक्रम, रक्तदान, स्वास्थ्य तथा आँखा जाँच, जनचेतनामूलक नाटक, प्रतिबद्धता पत्रमा हस्ताक्षर र पुरस्कार वितरण गर्दै सातौँ दिन ट्राफिक सप्ताह समापन गरिनेछ।