कैलाली कञ्चनपुरका छुट्टाछुटै स्थानबाट लागू औषध खैरो हेरोइन सहित ५ जना पक्राउ परेका छन । सोमबार धनगढी, महेन्द्रनगर र बेलौरीबाट ८ ग्राम ९४० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित ५ जना पक्राउ परेका हुन ।
धनगढी उमहानगरपालिका – १० सिमलघाटबाट २४ वर्षीय राम नारायण राना पक्राउ परेका छन । उनको साथबाट २ ग्राम २१० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
यस्तै भीमदत्त नगरपालिका – ११ होल्डिङ्ग सेन्टर नजिकबाट वडा नम्बर १० तिल्केनीटोलकी २३ वर्षीय ऐश्वर्या बिष्ट पक्राउ परेका छन ।
भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम ६१० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै बेलौरी नगरपालिका – १० सडकघाटबाट वडा नम्बर ७ का २० वर्षीय अमित राना र २० वर्षीय समिर चौधरी पक्राउ परेका छन । भारतबाट नेपाल तर्फ आउँदै गरेका उनीहरुको साथबाट ५३० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै बेलौरी नगरपालिका – १० सडकघाटबाट पनि भारतबाट नेपालतर्फ आउदै गरेको बा ७८ प ६७५९ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक बझाङको जयपृथ्बी नगरपालिका – ३ पणेश बस्तीका २६ वर्षीय दिनेश बिष्ट पक्राउ परेका छन । उनको साथबाट १ ग्राम ५९० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको छ ।