सोमवार, बैशाख ७, २०८३

प्रतिनिधिसभा निर्वाचनः २०८२ः डोटीमा त्रिपक्षीय प्रतिस्पर्धा

शेरबहादुर ऐर 

सुदूरपश्चिमको पहाडी जिल्ला डोटी सधैँझैँ फेरि पनि चुनावी सरगर्मीको केन्द्रमा छ । विगतका निर्वाचन परिणाम, अनुभवी नेताहरूको पुनरागमन, दलगत पुनर्संरचना र बदलिँदो राजनीतिक समीकरणले यहाँको राजनीति थप रोचक बनेको छ । २०७४, २०७९ हुँदै २०८२ साल फागुनमा हुन लागेको निर्वाचनसम्म आइपुग्दा डोटीको राजनीतिक यात्राले धेरै मोडहरू पार गरिसकेको छ ।

यही यात्रामा उभिएर हेर्दा डोटी केवल एउटा निर्वाचन क्षेत्र मात्र नभएर सुदूरपश्चिमको राजनीतिक दिशा निर्धारण गर्ने महत्वपूर्ण रणभूमि बन्दै गएको देखिन्छ । डोटी निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (क) को चर्चा गर्दा २०७४ सालको निर्वाचन स्वतः स्मरण हुन्छ । उक्त निर्वाचनमा नेपाली काँग्रेसका भरतबहादुर खड्का १७ हजार ४०६ मतसहित विजयी भएका थिए ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चक्रबहादुर मल्लले १६ हजार ७९२ मत प्राप्त गरेका थिए । मतान्तर अत्यन्तै न्यून रहेको यो परिणामले डोटी–१ मा राजनीतिक ध्रुवीकरण कति तीव्र छ भन्ने प्रस्ट पारेको थियो । खड्का केवल २०७४ का प्रदेशसभा सदस्य मात्र होइनन्, उनी २०७० सालमा संविधान सभा सदस्यसमेत भइसकेका अनुभवी नेता हुन् ।

लामो समयदेखि काँग्रेस राजनीतिमा सक्रिय खड्का स्थानीय जनतामाझ संगठन, पहुँच र अनुभवका हिसाबले बलिया मानिन्छन् । यही अनुभवका बलमा उनी २०८२ साल फागुन २१ मा हुने निर्वाचनमा पुनः उम्मेदवार बनेका छन् । उनको पुनरागमनलाई काँग्रेसले ‘अनुभव र स्थायित्व’को सन्देशका रूपमा प्रस्तुत गरिरहेको छ । तर, चुनौती सहज छैन । विगतमा झिनो मतले पराजित भएका एमाले समर्थक मतदाताहरू अझै पनि सक्रिय छन् । त्यसैले फेरि पनि कडा प्रतिस्पर्धा हुने संकेत स्पष्ट देखिन्छ ।

डोटी निर्वाचन क्षेत्र प्रदेशसभा (ख) भने कम्युनिस्ट प्रभाव बलियो मानिने क्षेत्र हो । २०७४ सालको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्र हाल नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट १६ हजार ९१ मतसहित निर्वाचित भएका थिए । उनले नेपाली काँग्रेसका उम्मेदवार योगेन्द्रबहादुर शाहीलाई पराजित गरेका थिए, जसले १३ हजार ४९५ मत प्राप्त गरेका थिए ।

त्रिलोचन भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका अनुभवी र प्रभावशाली नेता हुन् । प्रशासनिक अनुभव, संगठनात्मक पकड र कम्युनिस्ट आन्दोलनको पृष्ठभूमिले उनलाई उक्त क्षेत्रमा मजबुत उम्मेदवार बनाएको छ । हाल उनी प्रतिनिधिसभा सदस्यको दौडमा छन्, जसले यो क्षेत्रमा फेरि राजनीतिक तापक्रम बढाएको छ । उक्त क्षेत्रमा कम्युनिस्ट मत विभाजन वा गठबन्धनको स्वरूपले नतिजा निर्धारण गर्ने सम्भावना प्रबल देखिन्छ । भट्टको व्यक्तिगत प्रभाव र पार्टी संगठनबीचको तालमेल आगामी निर्वाचनको निर्णायक पक्ष बन्न सक्छ ।

प्रेम आले मगरः डोटीको राजनीतिमा विशेष अध्याय

डोटीको राजनीति चर्चा गर्दा प्रेम आले मगरको नाम छुटाउनै मिल्दैन । उनी २०७४ र २०७९ दुवै निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेता हुन् । २०७४ सालमा नेकपा एमालेबाट उम्मेदवार बनेका आले मगरले ३२ हजार ५१० मत प्राप्त गर्दै नेपाली काँग्रेसका विरबहादुर बलायरलाई पराजित गरेका थिए । बलायरले ३० हजार ८७८ मत पाएका थिए ।

यो परिणामले डोटीमा कम्युनिस्ट धारको बलियो उपस्थिति प्रमाणित गरेको थियो । तर २०७९ सालको निर्वाचनमा राजनीतिक समीकरण फेरियो । आले मगर नेकपा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवार बने । त्यसबेला नेपाली काँग्रेससँग सहकार्य रहेको थियो । उनले २७ हजार २१० मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी गौरीकुमार ओलीले २३ हजार ४ मत पाएकी थिइन् ।

यस निर्वाचनले गठबन्धन राजनीतिले डोटीमा कति ठूलो प्रभाव पार्न सक्छ भन्ने देखायो । २०८२ साल फागुनमा हुन लागेको निर्वाचनमा प्रेम आले मगर डोटीबाट नभई कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका छन् । उनी यसपटक नेपाली कम्युनिस्ट पार्टीबाट मैदानमा उत्रिएका छन् । डोटीमा लामो समय प्रभाव जमाएका आले मगरको स्थानान्तरणले यहाँको राजनीतिक समीकरणमा नयाँ खाली ठाउँ सिर्जना गरेको छ ।

यसैगरी, २०७४ सालमा काँग्रेसबाट उम्मेदवार बनेका विरबहादुर बलायर पनि यस निर्वाचनमा कुनै पनि क्षेत्रबाट उम्मेदवार छैनन् । यी दुई ठूला नाम चुनावी मैदानमा नहुँदा डोटीमा नयाँ नेतृत्व उदाउने सम्भावना बढेको छ । डोटीको राजनीतिमा अर्को महत्वपूर्ण पक्ष भनेको मतदाताको बदलिँदो सोच हो । वैदेशिक रोजगारी, शिक्षा, सडक र पूर्वाधार विकास, स्वास्थ्य तथा रोजगारीका मुद्दा अहिले मतदाताको प्राथमिकतामा छन् । परम्परागत पार्टी निष्ठाभन्दा पनि ‘काम गर्ने नेता’को खोजी बढ्दो क्रममा छ ।

यसले अनुभवी नेताहरूलाई मात्र होइन, नयाँ अनुहारहरूलाई पनि अवसर दिएको छ । दलहरूले उम्मेदवार छनोट गर्दा स्थानीय छवि, जनसम्पर्क र विकासप्रति प्रतिबद्धतालाई प्राथमिकता दिनुपर्ने दबाब बढेको छ । डोटीको आगामी निर्वाचन केवल स्थानीय सत्ता परिवर्तनको प्रश्न मात्र होइन । यसले सुदूरपश्चिम प्रदेशको राजनीतिक दिशा र केन्द्रको शक्ति सन्तुलनमा समेत प्रभाव पार्नेछ ।

अनुभवी नेताहरूको पुनः प्रतिस्पर्धा, केही ठूला नामको अनुपस्थिति र नयाँ राजनीतिक समीकरणले डोटीको चुनावलाई विशेष बनाएको छ ।
डोटीमा खडका र भट्टसहित नेकपा एमालेबाट दिपकबहादुर धामी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खडकबहादुर अग्रवाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नरेन्द्र खडका, नेपाली कम्युनिस्ट पार्टी माओवादीबाट प्रकाश कठायत, राष्ट्रिय जनमोर्चाबाट मणिराज भट्ट लगायत नौ जना फागुन २१ को चुनावी मैदानमा रहेका छन् ।

फागुन २०८२ मा हुने निर्वाचनले डोटीले कुन दिशामा कदम चाल्छ भन्ने निर्णय गर्नेछ । त्यो निर्णय केवल डोटीका लागि मात्र होइन, सुदूरपश्चिमको समग्र राजनीतिका लागि पनि संकेतक बन्नेछ । डोटी फेरि एकपटक इतिहास र भविष्यको दोबाटोमा उभिएको छ—अब फैसला जनताका हातमा छ ।