धनगढी– सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य तथा नेपाली कम्युनिष्ट पार्टीका नेता अक्कलबहादुर रावलले चिसापानी–जंगलघाट–बडिमालिका सडकअन्तर्गत पर्ने जंगलघाट पुलको ठेक्का रद्द गर्न खोजिएकोप्रति गम्भीर आपत्ति व्यक्त गरेका छन् ।
प्रदेश सभाको छैटौँ अधिवेशनको २५औँ बैठकमा ड्याप–ड्याप्पे समयमा नेता रावलले जानकारी दिए अनुसार, उक्त सडक परियोजना सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना अन्तर्गत पर्छ र पुल निर्माण करिब दुई–ढाइ वर्षअघि संघीय सरकारले ठेक्का दिएको थियो । उनका अनुसार, पुल निर्माण कार्य अघि बढिरहेको अवस्थामा संघीय सरकारले विभिन्न बहानामा ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाएको छ ।
रावलले यस क्रममा ‘वेतन कर्णाली’ र ‘अपर कर्णाली’ परियोजनाको डुवान क्षेत्र पर्ने भन्ने कारण देखाइएको उल्लेख गरे । उनका अनुसार, ठेक्का रद्द गर्नुको सट्टा पुल निर्माण कार्यलाई निरन्तरता दिनुपर्ने हो, नभए जनताको विकासप्रतिको सपनामाथि कुठाराघात हुने खतरा छ ।
प्रदेश सांसद रावलले प्रदेश सभामार्फत संघीय सरकारको ध्यानाकर्षण गराए । उनका अनुसार, पुल निर्माण सम्पन्न हुन नसके सुदूरपश्चिम प्रदेशको यातायात सुविधा र स्थानीय जनताको जीवनस्तरमा प्रत्यक्ष असर पर्छ । उनले भने, ‘जनताको सुविधा र प्रदेशको विकासलाई कुनै बहानामा रोक्नु उचित छैन । पुल निर्माण कार्यलाई छिटो सम्पन्न गराउन आवश्यक छ ।’
प्रदेश सरकार र संघीय सरकारबीच समन्वय गरेर परियोजना अघि बढाउन रावलले जोड दिएका छन् । उनका अनुसार, यस्तो पहलले प्रदेशको पूर्वाधार विकासमा गति ल्याउनेछ र स्थानीय जनतामा विकासको भावना सुदृढ बनाउनेछ ।
सुदूरपश्चिम प्रदेश स्थानीय सेवा विधेयक समितिमा पठाइयो
सुदूरपश्चिम प्रदेशसभामा दर्ता भएको सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) (पहिलो संशोधन) विधेयक विषयगत छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ ।
प्रदेश सभामा आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले पेश गरेको प्रस्तावमा विरोध नभएको कारण विधेयक सीधै समितिमा पठाइएको हो । समितिले विधेयकको दफाबार छलफल गरी आवश्यक सिफारिस प्रस्तुत गर्नेछ ।
यस्तै, डडेल्धुराबाट स्वतन्त्र रूपमा प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य ताराप्रसाद जोशीले प्रदेश सभा पदबाट राजीनामा दिएको जानकारी गराइएको छ । माघ ७ गते जोशीले आफ्नो पदबाट राजीनामा दिएका थिए । जोशी हाल डडेल्धुरा जिल्लाबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका छन् । सभामुख भिमबहादुर भण्डारीले सभामा यो राजीनामा स्वीकृत भएको जानकारी गराएका थिए ।