सोमवार, जेष्ठ १८, २०८३

लोक डेउडा गायनका ‘अमृत कण्ठी’ शेरी औजीको आवाजमा “बैतडी उईमाथी गड़ी” सर्वत्र बजारमा

प्रेम विवश चन्द
धनगढी– सुदूरपश्चिमको मौलिक लोकसंस्कृति डेउडालाई आधुनिक समयसम्म जीवन्त राख्न निरन्तर योगदान दिँदै आएका ‘अमृत कण्ठी’ गायक शेरी औजीको नयाँ लोक डेउडा गीत ‘बैतडी उईमाथी गड़ी’ सार्वजनिक भएको छ । शेरी औजीको आफ्नै आधिकारिक शेरी औजीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले बजारमा सकारात्मक चर्चा बटुल्न थालेको छ ।

ए रूपा, आँखा काँजल, जोली परेवा, जापानको भिसा, सर्क बादल, मेरी माया, हौस्या जोबन, सोराडकी टोप कमला जस्ता दर्जनौं सुपरहिट डेउडा गीतमार्फत श्रोतामाझ लोकप्रियता कमाएका शेरी औजी यस गीतमा पनि आफ्नो मिठासपूर्ण, दमदार र आत्मीय स्वर लिएर उपस्थित भएका छन् । लोक डेउडाको मौलिकता जोगाउँदै नयाँ स्वाद दिनु उनको विशेषता रहँदै आएको छ, जुन कुरा यस गीतमा पनि स्पष्ट देख्न सकिन्छ ।

‘बैतडी उईमाथी गड़ी’ गीतमा शेरी औजीसँगै कमला नेपालीको सशक्त आवाज सुन्न सकिन्छ । गीतका शब्द चर्चित गीतकार गोकर्ण दयाल (गौरव) ले सिर्जना गरेका हुन्, जसमा बैतडीको भूगोल, संस्कृति र भावनालाई सरल तर गहिरो ढंगले प्रस्तुत गरिएको छ । शब्द, स्वर र संगीतको संयोजनले गीतलाई अझ प्रभावशाली बनाएको छ ।

गीतको भिडियो बैतडी जिल्लास्थित सुप्रसिद्ध शिवनाथ ज्योतिर्लिङ्ग धामको पावन परिसरमा छायांकन गरिएको हो । भिडियोमार्फत उक्त धामका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेका देवालयहरूलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ । भिडियोमा अनिल नेपाली र जानकी शिनालको अभिनय देख्न सकिन्छ, जसले गीतको भावनालाई जीवन्त बनाएका छन् ।

भिडियोको छायांकन तथा कलर संयोजन कृष्णबाबुले गरेका हुन् भने निर्देशन चर्चित निर्देशक ‘सुरेन्द्र संगम ‘डोट्याल बड्डो’ले गरेका छन् । समग्रमा गीत, भिडियो र प्रस्तुतिले सुदूरपश्चिमेली लोकसंस्कृतिको पहिचानलाई अझ बलियो बनाएको देखिन्छ ।

‘बैतडी उईमाथी गड़ी’ ले लोक डेउडा प्रेमीहरू मात्र होइन, नयाँ पुस्तालाई पनि आकर्षित गर्ने अपेक्षा गरिएको छ । सुदूरपश्चिमको माटो, माया र पहिचान बोकेको यो गीत अहिले युट्युबमार्फत सर्वत्र उपलब्ध छ र श्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।