धनगढी– नेपाली काँग्रेसका सुदूरपश्चिम महामन्त्री तथा कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नरनारायण शाह (मनु) ले चुनावी अभियानलाई अझ व्यवस्थित, परिणाममुखी र जनकेन्द्रित बनाउन नेता–कार्यकर्तालाई स्पष्ट निर्देशन दिएका छन् । शनिबार नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ५ को आयोजनामा क्षेत्रीय प्रतिनिधि भेलामा उनले घरदैलो अभियानलाई व्यवस्थित ढंगले सञ्चालन गर्दै दैनिक उपस्थिति रजिस्टर राख्न र टोलस्तरमा मतदातालाई एकताबद्ध गर्न सक्रिय हुन आग्रह गरे ।
कैलाली–५ का विभिन्न टोल तथा वडामा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उम्मेदवार शाहले भने, ‘मान्छे क्रियाशील भए/नभएको बारे जानकारी राख्न घरदैलो अभियानको दैनिक उपस्थिति रजिस्टरमा राख्नुहोस् । यसले हाम्रो संगठन कति चलायमान छ भन्ने स्पष्ट देखिन्छ ।’ उनले संगठनको शक्ति नै जितको आधार हुने भन्दै अनुशासित र अभिलेखीकरणसहितको अभियान सञ्चालन गर्न जोड दिए ।
उम्मेदवार शाहले टोलस्तरमा तय गरिएका कार्यक्रमहरूलाई प्रभावकारी बनाउन स्थानीय पार्टी कमिटीहरूलाई जिम्मेवार बन्न आग्रह गरे । ‘टोलस्तरमा तोकिएको दिनको कार्यक्रममा सहभागी सबै मतदातालाई एकतावद्ध गर्न त्यहीँका पार्टीका साथीहरू सक्रिय रूपमा लाग्नुपर्छ,’ उनले भने, ‘स्थानको पहिचान गरी सचिवालयलाई र उम्मेदवारलाई जानकारी दिनुहोस्, ताकि समन्वय प्रभावकारी होस् ।’
उनले अहिलेको चुनावी परिवेशमा मतदाताहरू भाषणभन्दा उम्मेदवारलाई प्रत्यक्ष चिन्न र बुझ्न चाहिरहेको उल्लेख गरे । ‘अहिले भाषणभन्दा उम्मेदवार को हो भनेर चिन्न चाहन्छन्,’ उनले स्पष्ट पारे, ‘त्यसैले मतदातासँग प्रत्यक्ष भेटघाट र संवादलाई प्राथमिकता दिनुहोस् ।’
शाहले मतदाता शिक्षालाई चुनावी अभियानको महत्वपूर्ण पक्षका रूपमा अघि सारे । उनले वडा कार्यसमितिलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गर्दै भने, ‘मतदाता शिक्षामा वडा कार्य समिति सक्रिय भएर लागौँ । मतदातालाई सही ढंगले मतदान गर्ने तरिका, हाम्रो एजेन्डा र उम्मेदवारको प्रतिबद्धता स्पष्ट रूपमा बुझाउनुपर्छ ।’
उनले मतदाता शिक्षालाई केवल औपचारिक कार्यक्रम नभई विश्वास निर्माण गर्ने माध्यमका रूपमा लिनुपर्ने बताए । उनका अनुसार, मतदाता सचेत भए मात्र परिणाम पनि सुदृढ हुन्छ ।
‘उम्मेदवार घरमा आएन’ भन्ने गुनासो नआओस्
उम्मेदवार शाहले आफूलाई हरेक टोल–बस्तीमा पु¥याउने जिम्मेवारी पनि कार्यकर्तामाथि रहेको बताए । ‘उम्मेदवार हाम्रो घरमा आएन भनेर कसैले गुनासो गर्ने मौका नदिनुहोस्,’ उनले आग्रह गरे ।
आफ्नो स्वास्थ्य अवस्था उल्लेख गर्दै उनले भने, ‘शारीरिक अवस्था कमजोर भएकाले धेरै दौडधुप गर्न सकिँदैन । जति तपाईंहरूले मलाई दौडाउनु हुन्छ, त्यति म दौडिन्छु । जहाँ, जति खेर बोलाउनु हुन्छ, म सहभागी हुन्छु ।’
उनको यो भनाइले कार्यकर्तामा थप उत्साह पैदा गरेको सहभागीहरूले बताएका छन् । उम्मेदवार स्वयं प्रतिबद्ध र उपलब्ध हुने सन्देशले स्थानीय तहमा सकारात्मक सन्देश गएको छ । शाहले व्यक्तिगत जित–हारको चिन्ताभन्दा पार्टीको संगठित अभियानलाई प्राथमिकता दिन आग्रह गरे । ‘मेरो नतिजासँग चिन्ता लिनुभन्दा पार्टीको चुनावी प्रचारलाई व्यवस्थित गरौँ,’ उनले भने ।
उनले चुनावी प्रचारलाई योजनाबद्ध ढंगले अघि बढाउन, जिम्मेवारी बाँडफाँट स्पष्ट गर्न र नियमित समीक्षा गर्न सुझाव दिए । ‘हामीले आफ्नो काम ठीक ढंगले ग¥यौँ भने नतिजा आफैं अनुकूल आउँछ,’ उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै शाहले कैलाली–५ को समग्र विकास, सुशासन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए । उनले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार क्षेत्रमा दीर्घकालीन योजना ल्याउने प्रतिवद्धता दोहो¥याए ।
‘हामी केवल चुनाव जित्न होइन, क्षेत्रको विकासका लागि उम्मेदवारी दिएका हौँ,’ उनले भने, ‘जनताको विश्वासलाई विकास र समृद्धिमा परिणत गर्ने हाम्रो लक्ष्य हो ।’
कार्यक्रममा सहभागी नेता–कार्यकर्ताहरूले उम्मेदवार शाहको निर्देशनलाई सकारात्मक रूपमा लिँदै घरदैलो अभियानलाई थप तीव्र बनाउने प्रतिबद्धता जनाएका छन् । टोलस्तरमा नियमित बैठक, मतदाता सूची अद्यावधिक, युवा तथा महिला परिचालनजस्ता कार्यक्रमहरूलाई तीव्रता दिने निर्णय गरिएको छ ।
कैलाली क्षेत्र नम्बर ५ मा कांग्रेसले संगठित र योजनाबद्ध अभियान चलाइरहेको दाबी गर्दै स्थानीय नेताहरूले यसपटकको निर्वाचनमा जित सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन् ।
उम्मेदवार मनुको स्पष्ट निर्देशन, कार्यकर्ताको सक्रियता र मतदातासँगको प्रत्यक्ष संवादले चुनावी माहोल तातेको छ । संगठित संरचना, मतदाता शिक्षामा जोड र घरदैलो अभियानको प्रभावकारी व्यवस्थापनले कैलाली–५ मा कांग्रेसको जितको आधार बलियो बन्दै गएको देखिन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले देशलाई संकटतर्फ धकेल्छः नारायणदत्त भट्ट
नेपाली काँग्रेसका जिल्ला सभापति नारायणदत्त भट्टले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति कडा टिप्पणी गरेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी देश निर्माणको नाममा देशलाई नै संकटतर्फ धकेल्ने शक्ति भएको आरोप लगाए । भट्टले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी भनेको राष्ट्रिय स्वाहा पार्ने पार्टी हो । सामाजिक सञ्जालमा नयाँ दल भन्दै देशलाई ध्वस्त पार्ने र अस्थिरता निम्त्याउने कार्य भइरहेको छ ।’
उनले मतदातालाई भावनामा नबहकिन आग्रह गर्दै व्यक्तिको अनुहार हेरेर होइन, पार्टीको सिद्धान्त र विचारका आधारमा मतदान गर्नुपर्ने बताए । ‘व्यक्तिमा पूर्णता हुँदैन, केही न केही कमजोरी हुन्छ । त्यसैले व्यक्तिभन्दा पार्टीको झण्डा र रूख चिनेर मतदान गरौं,’ उनले भने । उनले पार्टीको नीतिगत स्थायित्व र ऐतिहासिक योगदानलाई ध्यानमा राख्नुपर्ने धारणा राखे ।
भट्टले नेपाली काँग्रेस देशको लोकतान्त्रिक आन्दोलनदेखि वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । उनका अनुसार पार्टीको सिद्धान्त, विचार र संगठनात्मक अनुभव नै देशलाई सही दिशामा अघि बढाउने आधार हुन् । ‘पार्टीको विचार विजयी भए मात्र देश सुरक्षित रहन्छ,’ उनले जोड दिए ।
त्यस्तै उनले नयाँ दलको आकर्षणमा परेर देशलाई दुर्घटनामा पार्ने जोखिम रहेको बताए । सामाजिक सञ्जालमा फैलाइने प्रचारप्रसार र भावनात्मक नाराले मात्र देश नचल्ने स्पष्ट पार्दै उनले ‘देशलाई प्रयोगशाला बनाउने प्रवृत्तिबाट जोगिनुपर्छ’ भन्ने चेतावनी दिए ।
सभापति भट्टले आगामी निर्वाचनलाई लक्षित गर्दै काँग्रेस कार्यकर्ता र समर्थकलाई एकजुट हुन आह्वान गरे । उनले देशको स्थायित्व, विकास र लोकतन्त्रको रक्षा गर्न काँग्रेस बलियो हुन आवश्यक रहेको बताए । ‘देशलाई दुर्घटनामा पार्ने शक्तिबाट जोगाउन काँग्रेस एक हुन जरुरी छ,’ उनले निष्कर्षमा भने ।
निवर्तमान प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्तको आह्वान – “व्यक्ति होइन, पार्टी जिताउन लागौँ”
आसन्न निर्वाचनलाई लक्षित गर्दै आयोजित भेलामा पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । भेलामा बोल्दै निवर्तमान प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्तले यस पटकको निर्वाचन अप्रत्यासित परिस्थितिमा हुन लागेको उल्लेख गर्दै पार्टी एकतामा जोड दिए ।
भेलालाई सम्बोधन गर्दै पन्तले देशको राजनीतिक इतिहास स्मरण गराउँदै भने, ‘०४८ सालदेखि यता देशले तीन वर्षभन्दा माथि एउटै सरकारले निरन्तर काम गर्ने अवसर पाएको छैन । राजनीतिक अस्थिरताले विकासको गतिलाई प्रभावित पारेको छ ।’ उनले अहिलेको चुनाव पनि त्यस्तै असहज र अप्रत्यासित परिस्थितिमा हुन लागेको टिप्पणी गरे ।
उनले स्पष्ट पारे, ‘जनता शान्ति र स्थायित्व चाहन्छन् । जसले सुशासन दिन सक्छ, पारदर्शिता कायम गर्न सक्छ, नागरिक अधिकारको रक्षा गर्न सक्छ–जनताले उसैलाई विजयी गराउँछन् ।’ पन्तले दाबी गरे कि नागरिक अधिकार, मानवअधिकार र लोकतन्त्रको रक्षा गर्ने पार्टीका रूपमा नेपाली काँग्रेस स्थापित छ ।
पन्तले विचारधारात्मक बहस पनि अघि सारे । ‘राष्ट्रियता र लोकतान्त्रिक मूल्यमा विश्वास गर्ने पार्टी नेपाली काँग्रेस हो । कम्युनिष्ट पार्टीहरू अन्तर्राष्ट्रिय धारसँग बढी प्रभावित देखिन्छन्,’ उनले भने । यद्यपि, उनले सबै राजनीतिक शक्तिहरू लोकतान्त्रिक प्रतिस्पर्धामा रहेको स्वीकार्दै स्वस्थ प्रतिस्पर्धाबाटै जनमतको सम्मान हुनुपर्ने धारणा राखे ।
उनले पार्टीका सबै तहलाई बलियो ढंगले चुनावी अभियानमा जुट्न आग्रह गरे । ‘नेता, कार्यकर्ता तथा शुभचिन्तकहरू बलियो भएर लाग्नुपर्छ । व्यक्तिगत मनमुटाव र अन्तरघातले पार्टीलाई राम्रो परिणाम दिँदैन,’ उनले चेतावनी दिए ।
पन्तले उम्मेद्वार चयनबारे देखिएको केही असन्तुष्टिलाई सम्बोधन गर्दै भने, ‘नरनारायण शाह मनु व्यक्तिगत रूपमा उम्मेद्वार होइनन्, उहाँ काँग्रेसका उम्मेद्वार हुनुहुन्छ । न मनु लड्दै हुनुहुन्छ, न डिल्लीराज लड्दैछु । चुनाव चिन्ह ‘रुख’ र नेपाली काँग्रेसको झण्डा लड्दैछ ।’
उनले भने, ‘मनु व्यक्ति हार्ने होइन, पार्टी हार्ने हो । त्यसैले यो नाताको होइन, पार्टीको सवाल हो । हामीले गम्भीर भएर पार्टीका लागि काम गर्नुपर्छ ।’ पन्तले विगतमा यस क्षेत्रमा भएका विकास निर्माणका कामहरू जनतामाझ पु¥याउनुपर्ने आवश्यकता औंल्याए ।
पन्तका अनुसार कैलाली क्षेत्र नम्बर ५ मा सडक, शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा उल्लेखनीय काम भएको छ । ‘हामीले गरेका कामहरू जनतालाई देखाउनुपर्छ । तथ्य र उपलब्धिका आधारमा मत माग्नुपर्छ,’ उनले भने ।
उनले अन्तरघातलाई पार्टीका लागि सबैभन्दा ठूलो चुनौतीका रूपमा चित्रित गर्दै भने, ‘इमान्दार भएर लाग्नुपर्छ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनको हितमा काम गर्नुपर्छ ।’
पन्तले भने, ‘जनताले शान्त र स्थिर सरकार चाहेका छन् । विकास निरन्तरतामा जानुपर्छ । प्रत्येक निर्वाचनपछि सरकार बदलिने परिपाटी अन्त्य हुनुपर्छ ।’ उनले लोकतन्त्रलाई संस्थागत गर्न दलहरूबीच स्वस्थ प्रतिस्पर्धा आवश्यक भए पनि परिणाम स्वीकार गर्ने संस्कार अझ बलियो बनाउनुपर्ने बताए ।
कार्यक्रममा उपस्थित कार्यकर्ताहरूलाई पन्तले विशेष निर्देशन दिँदै भने, ‘अन्तरघातले पार्टीलाई कमजोर बनाउँछ । असन्तुष्टि भए पनि पार्टीभित्रै समाधान खोज्नुपर्छ ।’
उनले संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै वडा, क्षेत्र र जिल्ला तहबीच समन्वय आवश्यक रहेको बताए । ‘सबै तह एकजुट भएर लागे मात्र विजय सुनिश्चित हुन्छ,’ उनले भने ।
भेलामा सुदूरपश्चिम प्रदेश सभा सदस्य डम्मरी महरा (रक्षा) ले पनि सम्बोधन गरिन् । उनले देश जटिल परिस्थितिबाट गुज्रिरहेको बताउँदै राजनीतिक स्पष्टताको आवश्यकता औंल्याइन् । ‘देश अप्ठ्यारो अवस्थामा छ । देशमात्र होइन, नागरिकमा पनि अन्योल छ,’ उनले भनिन्, ‘यसको निकास नेपाली काँग्रेसले दिन सक्छ ।’
महराले पार्टीभित्र एकता अपरिहार्य रहेको उल्लेख गर्दै भनिन्, ‘एक अर्काको आलोचना गरेर होइन, एकजुट भएर पार्टीको पक्षमा लाग्नुपर्छ । पार्टी कहीं विचलित छैन ।’
उनले उम्मेद्वारप्रति विश्वास व्यक्त गर्दै भनिन्, ‘सबै पार्टीका अब्बल नेताभन्दा नरनारायण शाह मनु सक्षम हुनुहुन्छ । उहाँको जितसँगै काँग्रेसको सिद्धान्तले जित्नुपर्छ ।’
भेलाले आगामी दिनमा घरदैलो, टोलसभा र जनभेटघाट कार्यक्रमलाई तीव्र बनाउने निर्णय गरेको जनाइएको छ । पार्टीका नेताहरूले मतदातासँग प्रत्यक्ष संवाद गरी विकासका एजेन्डा र पार्टीको दृष्टिकोण स्पष्ट पार्ने बताएका छन् । नेतृत्वले कार्यकर्तालाई सामाजिक सञ्जालमार्फत सकारात्मक प्रचार गर्न, भ्रामक सूचना खण्डन गर्न तथा मतदातासँग निरन्तर सम्पर्कमा रहन आग्रह गरेको छ ।