आइतवार, बैशाख ६, २०८३

धनगढी–गोदावरीमा नयाँ व्यवसायीमाथि दादागिरीको आरोप, यातायात क्षेत्रमा तनाव, निष्पक्ष प्रतिस्पर्धामाथि प्रश्न

धनगढी–गोदावरीमा नयाँ व्यवसायीमाथि दादागिरीको आरोप,
यातायात क्षेत्रमा तनाव, निष्पक्ष प्रतिस्पर्धामाथि प्रश्न

कैलाली — धनगढी–अत्तरिया क्षेत्रमा सार्वजनिक यातायात सञ्चालनका क्रममा नयाँ व्यवसायीमाथि दादागिरी भएको आरोप सार्वजनिक भएको छ। हालै सेवा विस्तार गरेको पश्चिम स्टार यातायात प्रा.ली ले आफूहरूको सवारी सञ्चालनमा अवरोध पुर्‍याइएको, चालक तथा सहचालकमाथि दुर्व्यवहार गरिएको तथा यात्रु चढाउन नदिने प्रयास भएको जनाएको छ।

कम्पनीका सञ्चालक जनक सिंह भाटले केही पुराना व्यवसायी समूहले अनौपचारिक रूपमा पालो प्रणाली लागू गरी नयाँ कम्पनीलाई सञ्चालनमा समस्या सिर्जना गरेको आरोप लगाए। उनका अनुसार चोक–चौराहामा सवारी रोक्ने, लखेट्ने तथा दबाब दिने जस्ता गतिविधि हुँदै आएका छन्।

धनगढी–अत्तरिया रुटमा यसअघि देखि सुदूरपश्चिम यातायात प्रा.ली, खप्तड यातायात प्रा.ली र कैलाली यातायात प्रा.ली सञ्चालनमा छन्। नयाँ कम्पनी प्रवेश गरेसँगै प्रतिस्पर्धा बढे पनि सहकार्यभन्दा विवाद बढेको देखिएको छ।

स्थानीयका अनुसार अत्तरिया चोक र धनगढी चौराहामा सवारी सञ्चालनलाई लिएर पटक–पटक तनाव सिर्जना हुने गरेको छ। यसले यात्रुहरूलाई सास्ती मात्र होइन, ट्राफिक व्यवस्थापनमा समेत समस्या थपिएको छ।

कानुनी रूपमा मोटर सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले तोकिएको स्थान र रुटबाहेक सार्वजनिक सवारी सञ्चालन गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ। तर कार्यान्वयन कमजोर हुँदा विवाद दोहोरिने गरेको सरोकारवालाहरूको भनाइ छ।

ट्राफिक व्यवस्थापनको जिम्मेवारीमा रहेको नेपाल प्रहरी अन्तर्गतको ट्राफिक प्रहरी प्रभावकारी रूपमा सक्रिय हुन नसकेको आरोप समेत उठेको छ। नयाँ व्यवसायीले निष्पक्ष वातावरणमा सेवा सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन्।

यातायात क्षेत्रमा देखिएको यो विवादले खुला प्रतिस्पर्धा, सेवाग्राहीको अधिकार र कानुनी शासनमाथि प्रश्न उठाएको छ। सम्बन्धित निकायले समयमै हस्तक्षेप नगरे समस्या थप चर्किने संकेत देखिएको छ।