आइतवार, बैशाख ६, २०८३

कैलाली कञ्चनपुरबाट साढे ५ लाखको अवैध सामान बरामद

कैलाली कञ्चनपुरबाट प्रहरीले साढे ५ लाखको अवैध सामान बरामद गरेको छ । सोमबार धनगढी उपमहानगरपालिका –३ भन्सार कार्यालय नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएको अन्दाजी १ लाख ८३ हजार ५ सय बराबरको मल्टिपिस स्फु ड्राईभर, मिनि फ्रिसिसन स्फु ड्राईभर, फ्रिसिसन स्फु ड्राईभर, फङसनस्फु ड्राईभर, डिजिटल इलेक्ट्रोनिक स्फु ड्राईभर, सोल्डर पेस्ट, सिलिकन कल्स, गोल्डेन क्राउन डिस्प्ले, लगायतका सामानहरू बरामद गरिएको छ ।
उक्त सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
यस्तै भीमदत्त नगरपालिका – ३ ब्रह्मदेव, भीमदत्त नगरपालिका – ४ बसपार्क र भीमदत्त नगरपालिका – ११ गड्डाचौकीबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ३ लाख ७० हजार ८१० रुपैयाँ बराबरको मिठाई बनाउने कच्चा पदार्थ, विभिन्न किसिमका कपडा, हार्डवेयर, किराना लगायतका सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।
दुवै जिल्लाबाट गरी बरामद गरिएको ५ लाख ५४ हजार ३१० रुपैयाँ बराबरको सामान आवश्यक कारबाहीको लागि सम्बन्धित जिल्लाका भन्सार कार्यालयमा पठाइएको छ ।