बुधबार, जेष्ठ २०, २०८३

रास्वपा उम्मेदवार चन्दको बाचा पत्र सार्वजनिक

रास्वपा उम्मेदवार चन्दको बाचा पत्र सार्वजनिक
धनगढी– राष्ट्रिय स्वतन्त्र पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार आनन्द बहादुर चन्दले आफनो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन । मंगलबार पत्रकार सम्मेलन गर्दै चन्दले यस क्षेत्रको दीर्घकालीन समृद्धि, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सुदृढ स्वास्थ्य सेवा, पूर्वाधार विस्तार र सुशासनलाई केन्द्रमा राख्दै विस्तृत प्रतिबद्धता सार्वजनिक गरेका हुन । उनले संघीय संसदमा आफ्नो भूमिकालाई नीतिगत सुधार, प्रभावकारी अनुगमन र जनआवश्यकताअनुसार बजेट सुनिश्चित गर्ने दिशामा केन्द्रित गर्ने बताएका छन् ।
उनको प्रतिबद्धता पत्रमा स्थानीय आवश्यकता र राष्ट्रिय नीतिबीच समन्वय गर्दै ‘समृद्ध कैलाली–५’ निर्माण गर्ने स्पष्ट लक्ष्य प्रस्तुत गरिएको छ ।
स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै चन्दले सेती प्रादेशिक अस्पताल र दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय लाई एकीकृत स्वास्थ्य–शिक्षा प्रणालीका रूपमा विकास गर्ने योजना अघि सारेका छन् । अस्पताललाई उपचार मात्र नभई अनुसन्धान, विशेषज्ञ उत्पादन र आधुनिक चिकित्सा शिक्षाको केन्द्रका रूपमा विस्तार गर्ने लक्ष्य उल्लेख गरिएको छ ।
टेलिमेडिसिन सेवामार्फत दुर्गम क्षेत्रका बिरामीलाई विशेषज्ञ परामर्श उपलब्ध गराउने, डिजिटल स्वास्थ्य रेकर्ड प्रणाली लागू गर्ने, एम्बुलेन्स सेवा व्यवस्थित गर्ने र रक्तदाताको डिजिटल व्यवस्थापन प्रणाली विकास गर्ने योजना समावेश छन् ।
सिकलसेल, थालासेमिया, मधुमेह, उच्च रक्तचाप, क्यान्सरजस्ता नसर्ने रोगको नियमित स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । साथै, स्वास्थ्य बीमा पहुँच विस्तार, दाबी प्रक्रिया सरलीकरण र आपतकालीन सेवा (आईसीयू, ट्रमा सेवा, एकीकृत एम्बुलेन्स नेटवर्क) सुदृढ गर्ने प्रतिबद्धता जनाइएको छ । सेती–गेटा क्षेत्रलाई विशिष्टीकृत उपचार तथा तालिम केन्द्रका रूपमा विकास गर्ने अवधारणा पनि प्रस्तुत गरिएको छ ।
शिक्षालाई रोजगारीसँग प्रत्यक्ष रूपमा जोड्ने नीति अघि सार्दै चन्दले विश्वविद्यालय, प्राविधिक कलेज र तालिम केन्द्रलाई एकीकृत ‘शिक्षा–सीप प्रणाली’ मा विकास गर्ने बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालय र दशरथ चन्द चिकित्सा विश्वविद्यालयमा स्नातकोत्तर तथा पीएचडी तहसम्म अध्ययन–अध्यापन विस्तार गर्ने पहल गर्ने योजना छ । कृषि, वन, स्वास्थ्य, विज्ञान र प्रविधि क्षेत्रमा नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गरी विद्यार्थी आकर्षण बढाउने लक्ष्य राखिएको छ ।
विद्यालय तहमा डिजिटल कक्षा, ई–लाइब्रेरी, स्मार्ट शिक्षण सामग्री र नियमित सिकाइ मूल्यांकन प्रणाली लागू गरिने उल्लेख छ । दुर्गम विद्यालयमा विषयगत शिक्षक सुनिश्चित गर्ने र शिक्षक तालिमलाई सुदृढ बनाउने प्रतिबद्धता पनि गरिएको छ ।
विद्यालय छाडेका किशोर–किशोरीका लागि सीपमूलक तालिम, प्राविधिक तथा व्यावसायिक शिक्षा केन्द्र स्थापना र वैदेशिक रोजगारीमा जान चाहने युवालाई प्रि–डिपार्चर तालिम तथा भाषा शिक्षाको व्यवस्था गर्ने योजना अघि सारिएको छ ।
खेलकुद क्षेत्रको विकासलाई युवा सशक्तीकरण र पर्यटनसँग जोड्दै चन्दले फाप्ला क्रिकेट रंगशाला लाई अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय रंगशालाका रूपमा विकास गर्ने लक्ष्य प्रस्तुत गरेका छन् ।
धनगढीमा फुटबल, एथलेटिक्स, पौडी, बास्केटबल, भलिबल लगायतका खेलका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने र विद्यालय तहदेखि प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गर्ने योजना उल्लेख गरिएको छ ।
आवासीय खेल एकेडेमी स्थापना, प्रशिक्षक उत्पादन कार्यक्रम, खेल विकास कोष गठन र विपन्न प्रतिभावान खेलाडीलाई छात्रवृत्ति उपलब्ध गराउने योजना पनि समेटिएको छ ।
धनगढीलाई सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवेशद्वारका रूपमा विकास गर्ने रणनीति अघि सारिएको छ । गौरीफन्टा (त्रिनगर) नाका स्तरोन्नति, पर्यटक सूचना केन्द्र स्थापना र सडक सञ्जाल विस्तारमार्फत भारत, चीन र मानसरोवर क्षेत्रसँगको पहुँच सुदृढ गर्ने योजना छ । खप्तड, शुक्लाफाँटा, अपी–सैपाल लगायतका पर्यटकीय गन्तव्यसँग जोडिने पर्यटन मार्ग विकास गरिने उल्लेख छ ।
थारु संस्कृति संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै थारु होमस्टे विस्तार, सांस्कृतिक संग्रहालय स्थापना र परम्परागत कला–संस्कृति संरक्षण कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ । स्थानीय कृषि तथा हस्तकला उत्पादनलाई पर्यटन बजारसँग जोडेर ‘स्थानीय उत्पादन–स्थानीय बजार’ अभियान सुरु गर्ने योजना पनि छ ।
धनगढी विमानस्थललाई मध्यम आकारका विमान उडानयोग्य बनाउने, हवाई कार्गो सेवा सञ्चालनका लागि नीतिगत पहल गर्ने योजना अघि सारिएको छ । सडक सञ्जाल स्तरोन्नति, दुर्घटना न्यूनीकरण, दीर्घकालीन ड्रेनेज प्रणाली, पुल निर्माण तथा शहरी क्षेत्रमा सडक बत्ती, फुटपाथ र साइकल लेन विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । कृषि उत्पादन ढुवानीका लागि संकलन केन्द्र स्थापना र सहुलियत भाडा व्यवस्थापन गर्ने योजना पनि समावेश गरिएको छ ।
कृषि क्षेत्रको आधुनिकीकरणलाई जोड दिँदै सिँचाइ विस्तार, भूमिगत पानी प्रणाली, उन्नत बीउ–बिजन उपलब्धता र कृषि यान्त्रीकरणलाई प्राथमिकता दिने योजना छ । कोल्ड स्टोर, वेयरहाउस, ग्रेडिङ र प्याकेजिङ केन्द्र स्थापना तथा कृषि प्रशोधन उद्योग (एग्रो–प्रोसेसिङ) विस्तार गर्ने प्रतिबद्धता गरिएको छ । साना तथा घरेलु उद्योगलाई सहुलियत ऋण, कर छुट र औद्योगिक ग्राम स्थापना गरी नयाँ उद्यमीलाई बजार, तालिम र परामर्श उपलब्ध गराउने नीति अघि सारिएको छ । सूचना प्रविधि, डिजिटल सेवा, ई–कमर्स र पर्यटन क्षेत्रमा स्टार्टअप कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
मुक्त कमैया, दलित, महिला र अल्पसंख्यक समुदायको सशक्तीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ । लागूऔषध विरुद्ध विद्यालय र समुदायमा सचेतना अभियान, पुनस्र्थापना केन्द्र स्थापना र प्रयोगकर्तालाई अपराधी होइन, बिरामीका रूपमा हेर्ने उपचारमुखी नीति अवलम्बन गर्ने योजना छ । सार्वजनिक सेवा प्रवाहलाई डिजिटल प्रणालीमा रूपान्तरण, पारदर्शिता, सार्वजनिक सुनुवाइ र नागरिक गुनासा प्रणालीलाई प्रभावकारी बनाउने प्रतिबद्धता गरिएको छ ।
नियमित क्षेत्र भ्रमण, प्रत्यक्ष जनसंवाद र डिजिटल माध्यममार्फत निरन्तर सम्पर्कमा रहने योजना पनि सार्वजनिक गरिएको छ ।