आइतवार, बैशाख ६, २०८३

शुक्लाफाँटा–लालझाडी क्षेत्रमा बाघ गणनाको क्यामेरा चोरी, मेमोरी कार्डसमेत गायब

कञ्चनपुर: शुक्लाफाँटा–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणनामा प्रयोग गरिएको एक क्यामेरा चोरी भएको छ । कम्प्लेक्सअन्तर्गत लालझाडी मोहना संरक्षित क्षेत्रमा राखिएको क्यामेरा चोरी भएको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेका अनुसार बाघ गणनाका लागि राखिएका एक क्यामेरासँगै आठवटा मेमोरी कार्डसमेत चोरी भएका छन् । बाघ गणनाका लागि हरेक स्थानमा एक जोडी स्वचालित क्यामेरा राखिएको थियो ।

‘एकतिरको क्यामेरा चोरी भयो, अर्कोतिरको कार्ड चोरी भयो,’ संरक्षण अधिकृत वाग्लेले भने, ‘जानेकै मानिसले चोरी गरेजस्तो देखिन्छ, मेमोरी कार्डसमेत लगेर गएको छ ।’ क्यामेरा र मेमोरी कार्ड चोरी भएपछि चोरी गर्ने व्यक्तिको पहिचानका लागि सम्बन्धित स्थानीय तहहरूसँग समन्वय गरिएको उनले बताए ।

शुक्लाफाँटा–लालझाडी–जोगबुडा कम्प्लेक्समा फागुन २६ देखि बाघ गणनाको काम सुरु भएको हो । गणनाका लागि २/२ किलोमिटरका २ सय ६० वटा ग्रीड निर्माण गरिएका छन् । बाघ ओहोरदोहोर गर्ने क्षेत्रको पहिचान गरेर हरेक ग्रीडमा एक जोडी स्वचालित क्यामेरा जडान गरिन्छ । त्यसै अनुसार एउटा ग्रीडमा कम्तीमा १५ दिन क्यामेरा राखिन्छ ।