मङ्लबार, बैशाख ८, २०८३

घरमै पुग्न थाल्यो राहदानी

डडेलधुराः स्थानीयले घरमै राहदानी पाउन थालेका छन् । दुर्गम क्षेत्रका बासिन्दाले घरमै राहदानी पाउन थालेपछि पैसा र समयको बचत भएको छ ।

डडेलधुराको ग्रामीण क्षेत्र महाकाली नदी किनारको बस्ती परशुराम नगरपालिका–६, करालीकी निर्मला बोहोराले एक दिनको यात्रा गरेर जिल्ला सदरमुकाम खलङ्गामा रहेको जिल्ला प्रशासन कार्यालय पुगेर अनलाइन प्रक्रियामार्फत राहदानीका लागि दर्ता गराएका थिए।

शुक्रबार उनले घरमै राहदानी पाए। उनले भने, “घरमै राहदानी पाउँदा खुसी लागेको छ ।’’ जिल्ला प्रशासन कार्यालय डडेलधुराले हुलाकमार्फत राहदानी उनको घरमा पु¥याएको हो ।

करालीबाट करिब दुई हजार रुपियाँ गाडी भाडा मात्रै तिरेर एक दिनको यात्रा गरेर जिल्ला प्रशासन कार्यालय पुगेर राहदानी बुझ्दा निकै समस्या हुने थियो ।

उनि नभई मात्रै सोही गाउँका विक्रम बोहोरा, उमेश धामी र अमरबहादुर धामीको राहदानी पनि घरैमा पुगेको छ । धामी भन्छन्, “दुर्गम क्षेत्रका बासिन्दाले राहदानी लिन करिब दुई दिनसम्म यात्रा गर्नुपर्ने र पाँच हजारदेखि सात हजार रुपियाँसम्म खर्च बेहोर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।”

सरकारको नीति राहदानी हुलाकमार्फत घर घरमै पु¥याउने भएका कारण पहिलो चरणमा हुलाकमार्फत केही थान राहदानी स्थानीयको घरमै पठाएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले बताए। उनले भने, “सरकारी सेवा घरमै उपलब्ध गराउने सरकारको नीति अनुसार काम सुरु गरेका छौँ । हुलाक कार्यालयमार्फत राहदानीलाई घरमै पुगेर उपलब्ध गराउने कामले निरन्तरता पाउने छ ।”

जिल्ला प्रशासन कार्यालयले पहिलो चरणमा २७५ जनाको घरमै राहदानी पठाएको छ । एक साताअघि हुलाकमार्फत पठाइएका राहदानीसम्बन्धी व्यक्ति वा उनको घरका सदस्यलाई हुलाकका कर्मचारीले पु¥याउने काम गरिरहेको जिल्ला हुलाक कार्यालय डडेलधुराका कार्यालय प्रमुख विजयराज ओझाले बताए।

उनका अनुसार जिल्लाका सात वटै स्थानीय तहमा इलाका हुलाक कार्यालय रहेका छन् । जिल्ला हुलाक कार्यालयले इलाकामा राहदानी पठाएपछि इलाका हुलाक कार्यालयका कर्मचारीले स्थानीयका घरमै राहदानी पु¥याउने गर्छन् ।

हुलाकमार्फत घरमै राहदानी वितरण सेवा सुरु भएपछि नागरिकलाई सहजता हुनुका साथै सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको कार्यालय प्रमुख ओझाको भनाइ छ । (गाेरखापत्र)