कञ्चनपुर: कञ्चनपुर जिल्लाका छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।
साेमबार (२०८३/०१/०६ गते) लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्लाफाँटा नगरपालिका–५, खजुवाबाट एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका–२ बस्ने सुवाश पाण्डे रहेका छन्। संका लागेर चेकजाँच गर्ने क्रममा पाण्डेको साथबाट लुकाई छिपाई राखिएको अवस्थामा शुद्ध तौल ४९.३३० ग्राम लागूऔषध खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, सोही दिन इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका–१०, दर्सिखल्लाबाट दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बेदकोट नगरपालिका–६, ओझाखाली बस्ने ईश्वर डगौरा र सोही मोटरसाइकलमा सवार बेदकोट नगरपालिका–५, बिचफाँटा बस्ने आकाश डगौरा रहेका छन्। प्रदेश ०२–००३ प २३७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट १०.५२० ग्राम खैरो हिरोइन फेला परेको हो।
पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई कानुन बमोजिम थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।