मङ्लबार, बैशाख १५, २०८३

मृतकको खाताबाट पैसा निकाल्न कंकाल बोकेर बैंक पुगे आफन्त

भारतको ओडिशा राज्यमा मानव संवेदनालाई झक्झक्याउने एक अचम्मलाग्दो घटना सार्वजनिक भएको छ। केओँझर जिल्लामा सोमबार घटेको घटनाले अहिले सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म तरंग ल्याएको छ।

आदिवासी समुदायका जीतू मुन्डा नामका युवक आफ्नो मृत बहिनीको बैंक खाताबाट रकम निकाल्न नपाएपछि कंकाल बोकेर बैंक पुग्न बाध्य भएका थिए। उनले आफ्नी बहिनी कलारा मुन्डाको खाताबाट करिब २० हजार रुपैयाँ झिक्न खोजेका थिए।

यसअघि पटक–पटक बैंक धाउँदा पनि कर्मचारीहरूले खातावालाकै उपस्थिति अनिवार्य रहेको भन्दै उनलाई फर्काउँदै आएका थिए। जीतूले बहिनीको मृत्यु भइसकेको जानकारी दिँदा पनि आवश्यक सहयोग नपाएको बताइएको छ। अन्ततः निराश भएर उनले बहिनीको कंकाल चिहानबाट निकालेर करिब ३ किलोमिटर पैदल बोकेर ओडिशा ग्रामीण बैंकको मल्लिपसी शाखासम्म पुर्‍याए। बैंकको बरामदामा कंकाल राखेपछि त्यहाँ उपस्थित कर्मचारी र सर्वसाधारण स्तब्ध बनेका थिए।

घटनापछि बैंकमा अफरातफरी मच्चिएको थियो र कर्मचारीहरूले प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार जीतू अशिक्षित छन् र ‘नोमिनी’ वा कानुनी वारिससम्बन्धी प्रक्रिया बारे अनभिज्ञ थिए। बैंकले पनि मृत व्यक्तिको खाताबाट रकम निकाल्ने प्रक्रिया स्पष्ट रूपमा बुझाउन नसकेको देखिएको छ।

प्रहरी र स्थानीय प्रशासनले घटनापछि हस्तक्षेप गर्दै जीतूलाई आवश्यक कानुनी प्रक्रिया बुझाउने र रकम निकाल्न सहयोग गर्ने आश्वासन दिएका छन्। प्रहरीको उपस्थितिमा कंकाललाई पुनः चिहानमै गाडिएको थियो।

डियानाली गाउँका बासिन्दा जीतू मुन्डाकी बहिनी कलारा मुन्डाको मृत्यु २६ जनवरी २०२६ मा भएको थियो। उनका नामित पति र छोराको पनि निधन भइसकेकोले खातामा रहेको रकमका एकमात्र दाबेदार जीतू नै हुन्।

आर्थिक रूपमा कमजोर रहेका जीतूका लागि उक्त रकम जीवनयापनको महत्वपूर्ण आधार भएको बताइएको छ। यही बाध्यताले उनलाई यस्तो चरम कदम चाल्न बाध्य बनाएको स्थानीयहरूले बताएका छन्।