बुधबार, बैशाख १६, २०८३

बैशाख १८ गते अब धनगढी दौडिन्छ हाफ म्याराथन !

कैलाली । कैलालीको धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । धनगढी जेसिजको आयोजनामा आगामी १८ गते प्रतियोगिता हुने जनाइएको छ ।

प्रत्येक वर्ष वैशाख १ गते हुने कार्यक्रम यस पटक वैशाख १८ गते हुन लागेको आयोजक धनगढी जेसिजका अध्यक्ष महेश्वर ओझाले जानकारी दिए ।

“अब धनगढी दौडिन्छ” भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिताको तीव्र तयारी भइरहेको समेत उनले बताए ।

यस पटक प्रतियोगिताको विजेताले ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ५५ हजार ५ सय ५५ र तेस्रो हुनेले ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक दीपेश बोहराले जानकारी दिए । उनले १२औँ संस्करण अहिलेसम्मकै भव्य रूपमा आयोजना हुने दाबी गरेका छन् ।

१८ गते बिहान ६ बजे धनगढी रंगशालामा मुख्यमन्त्री कमल बहादुर शाहले प्रतियोगिताको उद्घाटन गर्ने जनाइएको छ । उद्घाटन क्षेत्रबाट गेटा मेडिकल कलेज हुँदै पुनः रंगशालासम्मको २१.१ किलोमिटर दौड हुनेछ ।

प्रतियोगितामा ५ किलोमिटरको महिला तथा कर्पोरेट दौड पनि आयोजना गरिने भएको छ । दुवै प्रतियोगिताका विजेताले ७ हजार ७ सय ७७, दोस्रो हुनेले ५ हजार ५ सय ५५ र तेस्रो हुनेले ४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्नेछन् ।

यस पटकको दौडलाई लागूऔषधविरुद्धको अभियानका रूपमा लिइएको धनगढी जेसिजले जनाएको छ । सबैभन्दा धेरै रक्तदान गर्ने दीपक उपाध्यायलाई आकर्षणको केन्द्रका रूपमा राखिएको छ ।

प्रतियोगितामा सहभागीमध्ये एक जनालाई चिट्ठामार्फत पनि पुरस्कार दिइने बताइएको छ । निसर्ग अस्पतालले सहभागीमध्ये गोलाप्रथाबाट छनोट भएका तीन जनालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने जनाएको छ ।