कैलाली । यात्रुहरुको सुविधा र सहज यात्रालाई प्राथमिकतामा राख्दै सुन्दर सुदुरपश्चिम यातायात प्रालि ले हुलाकी मार्ग हुँदै धनगढी–नेपालगंज रुटमा एसी सहितको इभी (विद्युतीय) हाइस सेवा आजदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ।
सेवाको उद्घाटन प्रालिका अध्यक्ष पदमराज सापकोटा ले एक कार्यक्रमबीच गर्दै सुदूरपश्चिमको यातायात क्षेत्रमा यो सेवा नयाँ युगको सुरुवात भएको बताए। उनले वातावरणमैत्री र आरामदायी यात्रालाई लक्षित गर्दै सेवा सुरु गरिएको उल्लेख गरे।यो सेवा धनगढी क्याम्पस रोडबाट हरेक बिहान ७ बजे र नेपालगंजबाट दिउँसो १ बजे नियमित सञ्चालन हुने जनाइएको छ। यात्रुहरुलाई सहज, सुरक्षित र आरामदायी यात्रा अनुभव दिलाउने उद्देश्यले एसी सुविधा सहितको आधुनिक इभी हाइस सञ्चालनमा ल्याइएको हो।
प्रालिका अध्यक्ष सापकोटाले निकट भविष्यमा थप सवारी साधन थप्दै सेवा अझ प्रभावकारी र विस्तार गर्ने योजना रहेको बताए। यसैगरि, महासचिव सुरेन्द्र बोहरा ले पनि यात्रुको माग र आवश्यकतालाई ध्यानमा राख्दै सेवा सुधार र विस्तारलाई निरन्तरता दिइने स्पष्ट पारे।
यात्रुहरुले पनि नयाँ सेवाप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। नियमित यात्रु रमेश शर्मा भन्छन्, “पहिलेको तुलनामा यो सेवा धेरै सहज र आरामदायी छ। एसी सुविधा र नयाँ गाडी भएकाले यात्रा झन् सहज भएको महसुस भयो।” अर्का यात्रु अ्म्बिका चौधरीका अनुसार, “विद्युतीय सवारी भएकाले वातावरणमैत्री पनि छ, यस्तो सेवा अझ बढ्नुपर्छ।”