धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रदेशमा विगतका जस्तो आपराधिक समूह सक्रिय नरहेको दाबी गरेको छ। सर्वसाधारणहरूले यहाँ अन्डरग्राउन्ड ग्याङहरूको त्रास रहेको बताउँछन्। प्रहरी प्रशासनले भने प्रदेशमा कुनै पनि सङ्गठित अपराधी सक्रिय नरहेको दाबी गरेको हो।
प्रहरीले भने जस्तो सुदूरपश्चिममा अपराधी समूह निष्क्रिय भने छैन। स्रोतका अनुसार अहिले किशोरहरूका समेत गाउँ गाउँ ग्याङ छन्। प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा त जेलभित्र अपराधीहरू राज गर्छन्।
कैलालीमा मुख्य गरी चारवटा अपराधी समूहको चर्चा हुने गर्छ। नन्दु सरकार, जयन्द्र समूह, कोब्रा सरकार र इगल ग्याङ । यी समूहले जेल भित्रसमेत राज गरेका थिए। अहिले भने कैलाली कारागारमा यस्ता अपराधी सङ्गठनहरूबिच कुनै पनि सम्पर्क नहोस् भनेर जेल सरुवा लगायतका काममा कडाइ गरेको छ। पहिला कैलालीको दक्षिणी पूर्वी क्षेत्र अपराधीको हब जस्तै बनेको थियो। अहिले केहि समय यता त्यहाँ अपराधी घटना हत्या हिंसाका घटना डर लाग्दा घटेका छैनन्। प्रहरीका आफूहरू अपराधी समूह सक्रिय हुन नदिन विशेष रणनीति अपनाइएको बताउँछ।
प्रदेशका पहाडी जिल्लाहरूमा राजनीतिक आडमा र गाउँले रिसिइबिका कारण पनि साना–साना ग्याङहरू सक्रिय छन् । कतिपय अवस्थामा विप्लव नेतृत्वको नेकपा बहुमत र वैज्ञानिक समाजवादी पार्टीका कार्यकर्ताका नाममा पनि धम्क्याउने र चन्दा असुल्ने काम भइरहेको स्रोतको दाबी छ ।
जनस्तरमा त्रास रहे पनि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्ट भने अपराधीहरूलाई टाउको उठाउन नदिने दाबी गर्छन् ।
‘अहिले त्यस्तो सक्रिय रूपमा कोही पनि छैनन् । हामीले उनीहरूलाई सक्रिय हुन दिएका छैनौँ र दिने पनि छैनौँ’उनले भने।
एसएसपी विष्टका अनुसार अहिले प्रहरीलाई काम गर्न विगतको तुलनामा निकै सजिलो छ ।
‘अहिले नयाँ सरकारको पालामा प्रहरीलाई कुनै राजनीतिक दबाब छैन । कुनै नेताले अपराधी छुटाउन फोन गर्दैनन् । हामीलाई ‘स्वतन्त्र भएर काम गर्नुहोस्’ भनिएको छ । अपराधीहरूभन्दा प्रहरी कयौँ गुणा बढी शक्तिशाली छ, त्यसैले कसैलाई छोडिने छैन’, उनले भने।
प्रहरीले अहिलेको अवस्थालाई शान्त रहेको बताए पनि भुइँतहमा अपराधीहरूको सञ्जाल र जेलभित्रैबाट चल्ने आदेशले सर्वसाधारणमा भने संशय कायम छ । दाबी गरेझैँ नयाँ अभ्यास र स्वतन्त्र कार्यशैलीले यी सङ्गठित अपराधीहरूलाई पूर्ण रूपमा निर्मूल पार्ने प्रहरीको योजना छ। – रातोपाटीबाट साभार