दक्षिण भारतीय सुपरस्टार यश अभिनीत फिल्म ुटक्सिकः अ फेयरी टेल फर ग्रोन–अप्सु को प्रदर्शन मिति फेरि सारिएको छ।
निर्माण कम्पनी केभीएन प्रोडक्सन र मोन्स्टर माइन्ड क्रिएशन्सले बुधबार आधिकारिक रूपमा फिल्मको रिलिज तालिका परिवर्तन गरिएको जानकारी दिएका हुन्। यसअघि जुन ४, २०२६ मा विश्वव्यापी रिलिज गर्ने घोषणा गरिएको यो फिल्म अब नयाँ मितिमा प्रदर्शनमा आउनेछ। नयाँ प्रदर्शन मिति भने चाँडै सार्वजनिक गरिने बताइएको छ।
निर्माताहरूका अनुसार हालै सिनेमाकनमा फिल्म प्रस्तुत गरिएपछि अन्तर्राष्ट्रिय वितरक तथा उद्योग क्षेत्रबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको थियो। त्यसपछि फिल्मलाई अझ व्यापक अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गर्ने अवसर खुलेको भन्दै रिलिज रणनीति पुनः समायोजन गरिएको हो।
फिल्मको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको जनाइएको छ। अहिले विश्वव्यापी वितरण अधिकार र विभिन्न अन्तर्राष्ट्रिय साझेदारी टुंग्याउने काम भइरहेको निर्माण पक्षले जनाएको छ।
अभिनेता यशले जारी गरेको वक्तव्यमा भनेका छन्, ुकेही फिल्म हामी बनाउँछौं, तर केही फिल्मले किन हामी सिनेमाप्रति प्रेम गर्छौं भन्ने फेरि सम्झाइदिन्छ। ‘टक्सिक’ त्यस्तै एउटा यात्रा बनेको छ। सिनेमाकनमा फिल्म प्रस्तुत गर्दा पाएको विश्वव्यापी प्रतिक्रिया हाम्रो विश्वासलाई अझ बलियो बनाएको छ।ु
उनले थपे, ुभारतीय सिनेमा विश्वमञ्चमा सशक्त रूपमा उभिइरहेको यस समयमा हामी सबैको जिम्मेवारी स्तर उकास्नु हो। अभिनेता र निर्माता दुवै भूमिकामा मैले यो अवसरलाई भारतीय फिल्म उद्योगका लागि गर्वको क्षण बनाउने जिम्मेवारीका रूपमा लिएको छु।ु
ुटक्सिकु यश र गीतु मोहनदासद्वारा लेखिएको तथा गीतु मोहनदासद्वारा निर्देशित फिल्म हो। फिल्ममा यशसँगै नयनतारा, कियारा आडवाणी, हुमा कुरेशी, रूक्मिणी वसन्त, तारा सुतारियालगायत कलाकारहरूको अभिनय छ।
कन्नड र अंग्रेजीमा छायांकन गरिएको फिल्म हिन्दी, तमिल, तेलुगु र मलयालम भाषामा डब संस्करणहरूमा पनि रिलिज हुनेछ।