शुक्रबार, बैशाख १८, २०८३

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

सार्वजनिक यातायातको भाडा फेरि बढेको छ। सार्वजनिक यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडादर समान ५ प्रतिशतले वृद्धि गरेको जनाएको हो ।
यसअघि २५ चैतमा सरकारले भाडा समायोजन गरेको थियो । अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशतले वा सोभन्दा बढीले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रूपमा भाडा समायोजन गर्ने व्यवस्था रहेको छ ।
सोही व्यवस्थाबमोजिम पछिल्लोपटक डिजेलको मूल्य प्रतिलिटर ५५ रुपैयाँसम्मले वृद्धि भएपछि करिब २० दिनको अन्तरालमै पुनः भाडा समायोजन गर्नुपरेको विभागले जनाएको छ ।
विभागका अनुसार यात्रुवाहक सवारीसाधन, पहाडी बाटोहुँदै अन्तरप्रदेश चल्ने मालवाहक सवारीसाधन र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीसाधनको साविकको भाडादरमा समान ५ प्रतिशतले वृद्धि गरिएको छ ।