धनगढी– निजी विद्यालयमा कार्यरत शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने शिक्षक तालिम कार्यक्रम धनगढीमा भएको छ । शैलेश्वरी बोर्डिङ्ग स्कुल, मयुर स्कुल र फारवेष्ट सेकेन्डरी स्कुलको संयुक्त आयोजनामा सञ्चालन गरिएको उक्त तालिमले स्थानीय शिक्षा क्षेत्रमा सकारात्मक सन्देश दिएको आयोजकहरूले बताएका छन् ।
तालिममा विभिन्न विद्यालयका शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य उद्देश्य शिक्षकहरूलाई आधुनिक शिक्षण विधि, विद्यार्थी केन्द्रित सिकाइ प्रणाली तथा प्रविधिमैत्री कक्षाकोठा व्यवस्थापनबारे जानकारी गराउनु रहेको थियो ।
कार्यक्रमका प्रमुख प्रशिक्षक उपसचिव भिम पनेरूले शिक्षकहरूलाई प्रभावकारी शिक्षण विधि, कक्षा व्यवस्थापन, मूल्याङ्कन प्रणाली र आधुनिक प्रविधिको उपयोगबारे विस्तृत प्रशिक्षण दिएका थिए । उनले सूचना प्रविधिको बढ्दो प्रयोगले शिक्षण सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउन सकिने उल्लेख गर्दै शिक्षकहरूलाई डिजिटल उपकरणहरूको प्रयोगमा दक्ष हुन सुझाव दिएका थिए ।
आयोजक विद्यालयहरूले यस्ता कार्यक्रमले शिक्षकहरूको दक्षता वृद्धि मात्र नभई समग्र शिक्षा प्रणाली सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । भविष्यमा पनि यस्ता तालिमहरू नियमित रूपमा सञ्चालन गर्ने योजना रहेको उनीहरूले बताएका छन् ।
स्थानीय स्तरमा यस्ता पहलहरूले शिक्षाको गुणस्तर सुधार गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।