शुक्रबार, जेष्ठ १, २०८३

‌मेयर शाहीले आफु लम्कीचुहा अस्पताल व्यवस्थापन समितिको अध्यक्ष बन्ने नियतले अवरोध गरेको हो : मन्त्री खड्का

धनगढी, ३१ वैशाख / सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री  मेघराज खड्काले लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गर्ने प्रक्रियामा कुनै अवरोध नगर्न आग्रह गर्दै नागरिकको स्वास्थ्य सेवा सुनिश्चित गर्नु सरकारको पहिलो दायित्व भएको बताएका छन्।

पत्रकार सम्मेलनमार्फत बोल्दै मन्त्री खड्काले लम्कीचुहा अस्पताललाई प्रदेश सरकारअन्तर्गत ल्याउने निर्णय संघीय सरकारको स्वीकृतिअनुसार गरिएको स्पष्ट पारे। उनका अनुसार लम्कीचुहा अस्पताललाई आधारभूत अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय २०८१ साल असोज १७ गते गरिएको थियो भने २०८२ साल जेठ २६ गते नेपाल सरकारको मन्त्रिपरिषद् स्तरीय  निर्णयले औपचारिक रूपमा स्वीकृत गरेको जानकारी दिए ।

मन्त्री खड्काका अनुसार अस्पताल सञ्चालन तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन प्रदेश सरकारले व्यवस्थापन समिति समेत गठन गरिसकेको छ। यसका लागि लम्कीचुहा नगरपालिकालाई तीन पटकसम्म औपचारिक पत्राचार गरिए पनि नगरपालिकाले कुनै चासो नदिएको आरोप लगाए।

उनले अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकारले ४ करोड ८७ लाख रुपैयाँ बजेट समेत विनियोजन गरिसकेको जानकारी दिए। उक्त बजेट अस्पतालको सेवा विस्तार, व्यवस्थापन तथा आवश्यक पूर्वाधार विकासमा खर्च गर्ने गरी विनियोजन गरिएको बताए।

पत्रकार सम्मेलनमा मन्त्री खड्काले शुशिला शाहीप्रति संकेत गर्दै अस्पताल व्यवस्थापन समितिको अध्यक्ष स्वयम् बन्न चाहेको दाबी गरे। तर, त्यस्तो व्यवस्था कुनै कानुनी मापदण्डमा नरहेकाले प्रदेश सरकारले योग्यता र प्रक्रियाका आधारमा बाहिरबाट व्यवस्थापन समिति चयन गरेको उनको भनाइ थियो।

मन्त्री खड्काले लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने प्रस्ताव स्वयं नगरपालिकाकै मागअनुसार अघि बढाइएको दाबी समेत गरे। “नगरपालिकाकै मागका आधारमा अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा स्वीकृत गरिएको हो,” उनले भने।

उनले कानुनको दायराभित्र रहेर अस्पतालभित्र आवश्यक सबै व्यवस्थापन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। व्यक्तिगत इच्छा वा पदको आकांक्षाका कारण सर्वसाधारण नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुन नहुने उनको भनाइ छ।

मन्त्री खड्काले आम नागरिकको आवश्यकता र मागलाई केन्द्रमा राखेर लम्कीचुहा अस्पताललाई थप विस्तार गर्दै गुणस्तरीय प्रादेशिक अस्पतालका रूपमा विकास गरिने बताए।