बिहिबार, बैशाख ३१, २०८३

निर्माण सामग्रीमा मूल्यवृद्धिको विरोधमा निर्माण व्यवसायी संघ कैलालीद्वारा ज्ञापनपत्र

धनगढी/नेपाल सरकारद्वारा निर्माणजन्य सामग्रीहरूमा गरिएको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण उद्योग चरम संकटमा परेको भन्दै निर्माण व्यवसायी संघ कैलालीले विरोध जनाएको छ ।

संघले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै बुधबार जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो । निर्माण व्यवसायीहरूले मूल्यवृद्धिका कारण निर्माण कार्य प्रभावित भएको, व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको तथा समग्र निर्माण क्षेत्र नै संकटतर्फ धकेलिएको बताएका छन् । उनीहरूले सरकारसँग निर्माण सामग्रीको मूल्य नियन्त्रण, व्यवसायीमैत्री नीति तथा निर्माण क्षेत्रलाई राहत हुने कार्यक्रम ल्याउन माग गरेका छन् ।

ज्ञापनपत्र बुझाएपछि निर्माण व्यवसायी संघ कैलालीले जिल्ला प्रशासन कार्यालय कैलालीको गेटमा आधा घण्टा धर्ना कार्यक्रमसमेत आयोजना गरेको थियो । कार्यक्रममा सहभागी व्यवसायीहरूले सरकारको नीतिप्रति असन्तुष्टि जनाउँदै शीघ्र समस्या समाधान गर्न आग्रह गरेका थिए । संघले निर्माण क्षेत्रलाई बचाउन सरकारले तत्काल ठोस कदम नचाले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्माण व्यवसाय सङ्घ कैलालीका अध्यक्ष दीर्घराज जोशीले जानकारी दिए।